लन्डन । नयाँ वर्ष २०७१ को उपलक्ष्यमा प्रवासी नेपाली मन्च बेलायतले शुभकामना कार्यक्रमको आयोजना गरेको छ । पश्चिम लण्डनको एजवेयरमा सम्पन्न शुभकामना साँझमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रवासी नेपाली मन्च बेलायतका अध्यक्ष रामशरण सिम्खडाले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । नेपालबाहिर जुनसुकै देशमा बसोबास गरेपनि आफनो नेपाली संस्कृति बिर्सिन नहुने उनको विचार थियो । नयाँ वर्षले बेलायतबासी सबै नेपालीहरुलाई एक ठाउंमा भेला गराइदिएको भन्दै उनले खुसी पनि व्यक्त गरे ।
मन्चका महासचिव तेज भुसालले बेलायतका विभिन्न ठाउँमा छरिएका सबै नेपालीहरुलाई एकै ठाउँमा भेला गरी शुभकाना आदानप्रदान गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताए । शुभकामना सांझका संयोजक तथा मन्चका उपाध्यक्ष रविन्द्र कंडेलले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।
कार्यक्रममा मन्चका संस्थापक अध्यक्ष आकलजंग लामा, निवर्तमान अध्यक्ष दिनेश घिमिरे, निवर्तमान महासचिव राजेन्द्र पुडासैनी, एनआरएन बेलायतका कोषाध्यक्ष डासु पाण्डे, पत्रकार महासंघका अध्यक्ष चिरन शर्मा, एनआ।एन आइसीसीका पशुपति भण्डारी, शुष्मा राई लगायतको उपस्थिति थियो ।
कार्यक्रममा गायक सुजन पराजुलीको प्रस्तुतिले एक विशेष रौनक थपेको थियो । उनले गाएका झण्डै आधा दर्जन गीतमा उपस्थित सबैले कम्मर मर्काएका थिए । त्यसक्रममा युवा डिजे निकेशले पनि विभिन्न नेपाली गीतहरुमा सबैलाई मध्यरातसम्म नचाएका थिए ।
कार्यक्रममा बेलायतका विभिन्न ठाउंमा बसोबास गर्ने सयौं नेपालीहरु सहभागी थिए ।














प्रतिक्रिया