– भरत शिवाकोटी, हाल : प्रवास
नयाँ वर्ष तिमीलाई के स्वागत गरौं र …
हरेक वर्ष तिमी आउँछौ
केही मान्छेहरु नाच्छन्, गाउँछन्, रमाउँछन्
तर ती वस्तिहरुमा, ती झुप्राहरुमा
हरेक नयाँ वर्षहरु थपिँदै जाँदा
धुरिबाट धुँवा निस्कन छोडेको छ
गतसाल कैयौंको संख्यामा कठाङ्ग्रिएर काप्नेहरु
आज हजारौंको संख्यामा थपिएका छन्
आकाशको छानो ओढ्ने वस्तिहरुका
आङ्हरु रित्तिएका छन, वस्त्रविहीन भएर
नयाँ वर्ष तिमीलाई के स्वागत गरौं र …
पोहोर देश बिरामी परेको थियो
यसपाली त थलिएको छ, तङ्ग्रिनै नसक्ने गरी, उठ्नै नसक्ने गरी
पोहोर मेरो देशमा रहेको लिपुलेक आज मेरै रहेन
दिनदिनै सिङ्गो देश साँघुरिँदैछ, खुम्चिँदैछ
हिजोको गोर्खालीको ईतिहास आज फाटिसकेको छ
त्यसैले त म अलाप्न मात्र सक्छु, विलौना गर्न मात्र सक्छु
मेरै आँखा अगाडि मेरै मातृभूमी खोसिँदा
म टुलुटुलु हेर्ने लाचार भएको छु
नयाँ वर्ष तिमीलाई के स्वागत गरौं र …
सन्तानहरु सपना सजाएर अरबको खाडीमा पसिना पोख्दैछन
अलिकती पैसा छ तर बालबच्चा भोकभोकै छट्पटिँदै छन्
किनभने आज फाँटहरु र खेतहरु बाँझै छन्
नारा घन्काएर भोको पेट किन भरिन्थ्यो र
दुनियाँ लोभिने मेरो संस्कृति
आज नाङ्गै बाँझो खेतमा बुख्याँचामा ठडिएर रमिते भएको छ
लमतन्न सडकका किनारमा गन्हाएको छ
मित्र भनेर ढाडमा छुरा हान्ने छिमेकीको कपटमा
कतै मागिँदैछ, कतै किनिँदैछ, कतै बेचिँदैछ, कतै खोसिँदैछ
नयाँ वर्ष तिमीलाई के स्वागत गरौं र …
मैले सक्ने भए नयाँ वर्ष
तिमीलाई रोकिदिन्थे सधैंका लागि
किनभने मेरा भाकलहरु, कामनाहरु तिम्रो जन्मदेखि नै अधुरा छन्
तिमी आँफै आउँछौ, आफै जान्छौ
बदलामा झुप्राहरु तोडिन्छन, सपनाहरु च्यातिन्छन्
खोइ, त्यो सिंहदरबारको चियापान कहिले झुपडिमा आइपुग्ला
त्यो सिंहदरबारको आँखा कहिले लिपुलेक र खोसिँदै गरेको जमिनमा पुग्ला
त्यसले कहिले भित्रिएको विकृति र बाहिरिएको संस्कृतिलाई देख्ला
मन नलागी–नलागी सर्वथा प्रताडित अवस्थामा
यस्तो दोसाँधमा तिमी नै भन न
नयाँ वर्ष तिमीलाई के स्वागत गरौं र …
नयाँ वर्ष तिमीलाई के स्वागत गरौं र …















प्रतिक्रिया