काठमाडौं, १ वैशाख । पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र शाहले वर्षको शुभकामना दिनुहुँदै ‘स्वदेशको माटोमा दह्रोसँग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व आफ्नो मौलिक अस्तित्व र नेपालको आफ्नो स्वाधीन रहोस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तहरूलाई समेटेर अगाडि बढ्न आवश्यक भइसकेको’ बताउनुभएको छ ।
शुभकामना वक्तव्यमा पूर्व श्री ५ ले भन्नुभएको छ, ‘हाम्रा राष्ट्रिय मान्यता धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता विपरीत प्रहार भइरहेको वर्तमान अवस्थामा हाम्रा पूर्खाले सुम्पिएका धरोहरहरू आफ्ना सन्ततीलाई कसरी हस्तान्तरण गर्न सक्छौं भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै छ ।’ घटना र विचार साप्ताहिकले समाचार छापेको छ ।
राज्य संयन्त्रलाई व्यक्तिगत लाभका निम्ति दुरुपयोग गर्ने शासकीय शैलीले नेपाललाई कमजोर बनाएको भन्दै उहाँले शुभकामना वक्तव्यमा भन्नुभएको छ, ‘हामी के थियौँ, को थियौँ, अहिले कुन स्थितिमा छौँ, देश कता जाँदैछ, समाजको मनोदशा के छ, हाम्रो साझा र सही मार्गचित्र के हुनुपर्छ, कसको के–कस्तो त्याग र योगदान छ, कसको के–कस्तो महत्व र मान्यता छ, अनि क–कसको कस्तो अर्घेल्याइँ छ भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेका छन् ।’
यसरी शुभकामना वक्तव्यमार्फत पूर्व श्री ५ ले राष्ट्रियता र राष्ट्रिय एकतामा क्षति पुगेकोप्रति चिन्ता प्रकट गर्दै शासन गर्ने शक्तिमाथि दह्रिलो प्रहार गर्नुभएको छ ।
गत विजयादशमीयता पुस २७ गते राष्ट्रिय एकता दिवस र फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा पनि उहाँले निकै कडा वक्तव्य जारी गर्नुभएको थियो । नयाँ वर्षको शुभकमाना प्रकट गर्न जारी वक्तव्यमा पनि उहाँले शासक पक्षमाथि कठोर प्रहार गर्नुभएको छ ।















प्रतिक्रिया