२५ कार्तिक २०८३, बुधबार

साझा प्रकाशन डुबेको सुन्दा स्रष्टाका आँखामा आँसु…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-ghimire-kabi– प्रकाश सिलवाल
काठमाडौँ, २५ चैत । “एक शताब्दी समय पार भएको साझा प्रकाशनले लेखकलाई ठगेको छैन तर यसमा के दुर्दसा पर्यो, यो किन टाट पल्टियो ?” आठ वर्षपछि पहिलोपटक साधारणसभा भइरहँदा प्रकाशनको पुल्चोकस्थित परिसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेले गरेको प्रश्न हो यो ।

आफ्नो जीवनको पहिलो जागिर नै सो प्रकाशनबाट प्रारम्भ गर्नुभएका राष्ट्रकवि घिमिरे मात्र होइन उहाँजस्ता मूर्धन्य र वरिष्ठ स्रष्टाको भावना जोडिएको सो संस्था अहिले इतिहासकै गम्भीर मोडमा उभिएको छ ।

करिब रु ४० करोड घाटाको भार बोकेर संस्था राज्य र अन्य क्षेत्रबाट संस्था बचाउका लागि गुहार मागिरहेको छ, संस्थालाई यो अवस्थामा ल्याउने पक्षको खोजी गरिरहेको छ । २३औँ साधारण सभामा सहभागी अंशियारका विभिन्न प्रतिक्रिया सुनेपछि संस्कृतिविद् सत्यमोहन जोशी र वरिष्ठ साहित्यकार वैरागी काइँलालाई साक्षी राख्दै घिमिरेले साझाको स्तरीयता खस्केको, यसको पाठ्यपुस्तक वितरणको मुख्य काम खोसिएको र बचाउनका लागि सरकारले सहयोग नगरेकामा चिन्ता व्यक्त गर्नुभयो ।

कतिपय सदस्यले यसको भौतिक सम्पत्ति बेचेर भए पनि संस्था बचाउनुपर्ने र कर्मचारीको आठ महिनाको बक्यौता तलब दिनुपर्ने सुझाए पनि घिमिरे त्यसका पक्षमा देखिनु भएन । उहाँले भन्नुभयो– “सम्पत्ति खाएर जानेले संस्था चलाउन सक्दैन । केही व्यक्तिको स्वार्थका कारण संस्था यो अवस्थामा पुगेको हो । वर्तमान व्यवस्थापनले निश्चित कार्यदिशाका साथ अघि बढ्नुपर्छ । शिक्षा र भाषाका संस्थालार्ई राज्यले बचाउनुपर्छ ।”

आर्थिक सङ्कट व्यहोरिरहेको प्रकाशनले आफ्नो व्यावसायिक क्षमता बढाउँदै पछिल्लो समयमा सबै बिक्री केन्द्र र प्रेस सञ्चालनमा ल्याए पनि पुस्तक बिक्रीका भरमा तलब खुवाउन सकेको छैन । सरकारसँग सहुलियत ऋण पाउन प्रधानमन्त्री, अर्थमन्त्री र शिक्षामन्त्रीदेखि धेरैतिर धाए पनि उपलब्धि हात पारेको छैन ।

कुनै उपाय नभएमा संस्था विघटन (स्वतः मरण) को अवस्थामा पुग्ने खतरा व्यवस्थापकले आँैल्याएपछि सदस्यले त्यसको विकल्प खोजेर संस्था उठाउन दबाब दिएका छन् । कतिपयले संस्था मर्न लाग्यो भन्दा आफ्नो आँखामा आँसु आएको बताए ।

उनीहरुले मर्नका लागि केही नगरे पनि संस्था मर्ने भएकाले बचाउनका लागि ल्याउने योजनामा आफूहरु हातले मात्र होइन टाउकाले पनि हस्ताक्षर गर्न तयार रहेको जनाउ दिएका छन् । उनीहरुले पहिलापहिला साझामा पुस्तक छाप्नु गौरवको विषय बने पनि अहिले व्यक्तिगत सम्पर्कका कारण प्रकाशनको क्रम चलेकाले स्तर खस्केको गुनासो गरेका छन् ।

साथै राजनीतिक हस्तक्षेप र भागबन्डा, सरकारी पाठ्यपुस्तक वितरण निजी क्षेत्रलाई दिइनु पनि समस्याको विषय भएको सभाले ठहर गरेको छ ।

लेखक खगेन्द्रप्रसाद लुइँटेल, डा बमबहादुर थापा ‘जिताली’, कृष्णप्रसाद घिमिरे, रामदेव पाण्डे, नरेन्द्रबहादुर श्रेष्ठ, तुलसी न्यौपाने, प्रतीक ढकाल, आरसी न्यौपाने संस्था सुधारका लागि सुझाव दिनुभएको थियो ।

विगतमा देखिएका आर्थिक अनियमितताको छानबिनको प्रतिवेदन र आठ वर्षसम्मको लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न अंशियारले माग गरेका छन् । प्रकाशनका अध्यक्ष महाप्रन्बधक डोलिन्द्रप्रसाद शर्माले सडकमा पुगिसकेको संस्थालाई आफूहरुले अस्पतालमा ल्याएर उपचार गरिरहेको भन्दै संस्था डुबेको नभई डुबाइएको दाबी गर्नुभयो ।

उहाँले छ महिनाभित्र विशेष साधारणसभा गरी यसबीचको लेखा परीक्षण र अनियमितता छानबिनको प्रतिवेदन सावर्जनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

तत्कालीन सरकारले विसं १९७० मा नेपाली भाषाको संरक्षण र प्रवद्र्धनका लागि स्थापना गरेको गोरखा भाषा प्रकाशिनी समिति सहकारी ऐनअन्तर्गत २०२१ मा साझा प्रकाशनमा रुपान्तरण भएको हो । २०२३ सालमा पुस्तक प्रकाशनमा आरम्भ गरेको साझाले प्रकाशित गरेका विभिन्न १२ वटा पुस्तकले मदन पुरस्कार पाइसकेका छन् ।

विसं २०६० पछि साझाले बिक्री वितरण गर्दै आएको विद्यालयस्तरका पाठ्यपुस्तक निजी क्षेत्रलाई दिने नीतिगत व्यवस्था गरिएपछि विस्तारै साझा प्रकाशन कामविहीन भएको हो ।

सञ्चालक सदस्यको मतदान

सभामा संस्थामा रिक्त अंशियारतर्फका तीन सञ्चालक सदस्य पदका लागि आज निर्वाचन भएको छ । निर्वाचनमा डा विजय सुब्बा, जीवनचन्द्र कोइराला, हरिहर खनाल र मनोहर लामिछाने उम्मेदवार हुनुहुन्छ । कुल एक हजार ५५४ मतदाता रहेको संस्थामा साँझ ५ बजेसम्मका लागि तोकिएको समयमा ५३५ ले मतदान गरेका छन् । मतदान सकिएपछि आजै गणना सुरु भएको छ । साधारणसभामा करिब ७०० को उपस्थिति थियो ।

प्रकाशनका अन्य चार सञ्चालक सदस्य एक वर्षअघि शिक्षा मन्त्रालयबाट मनोनयन भएका थिए । राष्ट्रकवि घिमिरेलगायत पूर्वमन्त्रीहरु प्रदीप नेपाल, दिनानाथ शर्मा, राधाकृष्ण मैनाली, केशव बडाल, रघुजी पन्त, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ साहित्यकार आनन्ददेव भट्ट, निनु चापागाईंलगायतले पनि साधारणसभामा भाग लिनुभएको थियो । रासस