काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्। उनले यस पर्वले आपसी प्रेम, विश्वास, सम्मान र आत्मीयता बढाउन भूमिका खेल्ने बताएका हुन्।
यमपञ्चकको अन्तिम दिन भाइटीकाका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई पर्वको शुभकामना दिएका छन्।
उनले भाइटीकासँग जोडिएको पौराणिक प्रसङ्ग पनि स्मरण गरेका छन्। धार्मिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन यमुनाले आफ्ना दाजु यमराजलाई घरमा बोलाएर विधिपूर्वक पूजा तथा सत्कार गरेको विश्वास गरिन्छ। यमुनाको प्रेम र आतिथ्यबाट प्रसन्न यमराजले त्यस दिन दिदीबहिनीबाट टीका र पूजा ग्रहण गर्ने दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको कथन रहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।
यही धार्मिक विश्वासका आधारमा भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको सुख, स्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै पूजा गर्ने परम्परा रहेको उनले बताएका छन्। यस अवसरमा दाजुभाइलाई दुबो, मखमली र सयपत्रीको माला लगाइदिने, सप्तरङ्गी टीका लगाउने, ओखर फुटाउने तथा तेलको घेरा लगाएर सुरक्षा र दीर्घायुको कामना गर्ने चलन छ।
त्यस्तै, विभिन्न परिकार खुवाएर दाजुभाइको स्वागत गर्ने र दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो क्षमताअनुसार दक्षिणा तथा उपहार दिई आशीर्वाद लिने परम्परा रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।












प्रतिक्रिया