काठमाडौं, २२ चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापाको चरम निरंकुशता थेग्न नसकेपछि अन्ततः सो पार्टीका नेता केशरबहादुर बिष्टले पार्टी विभाजन गर्ने तयारीलाई तीब्र बनाएका छन् ।
बिष्टले दैनिक सरह भेटघाट र जोडघटाउ गर्ने गरेको स्रोतको भनाइ छ । बिष्टले आफ्नो राजनीतिक व्यस्ततालाई तीब्र बनाएका हु्न् ।
वीरगञ्जमा तीन दिनसम्म चलेर सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका क्रममा बिष्टलाई साधारण सदस्य समेत नरहने गरी ३ वर्षका लागि अध्यक्ष थापाले कारबाही गरेपछि बिष्टलाई राप्रपा नेपाल बिभाजन गर्न बाटो खुलेको हो ।
राप्रपा नेपालका नेता बिष्टलाई करिब १५ केन्द्रीय सदस्यको समर्थन छ । उनलाई पार्टी विभाजन गर्नका लागि आवश्यक संख्या होइन । तै पनि उनले कमल थापालाई देखाउन राप्रपा नेपाललाई चोइट्याइ छाड्ने चेतावनी दिएका छन् ।
पार्टी विभाजन गर्ने सुइको पाएपछि थापाले बिष्टका छोरा बिराज बिष्टलाई स्थानीय विकास सहायक मन्त्री बनाइ दिएका थिए । थापासँग रुष्ट बिराजले आफ्ना बाबुलाई भएको कारबाहीप्रति आक्रोश व्यक्त गर्ने गरेका छन् ।
स्रोतका अनुसार पार्टी विभाजनमा बिष्टलाई भूमिसुधारमन्त्री रामकुमार सुब्बा, राज्यमन्त्री बिक्रमबहादुर थापा र बिराज बिष्ट तथा बबिना मोक्ता लावतीले सहयोग गरेका छन् । यो संख्या पनि पार्टी विभाजनका लागि आवश्यक ४० प्रतिशत होइन ।
राप्रपासँग पार्टी एकताको अन्तिम तयारी गरेको राप्रपा नेपालले धुजाधुजा हुन थालेपछि अध्यक्ष थापा आफ्नै केही नेताहरूसँग जंगिने गरेका छन् । रिसको आवेगमा आउने गरेका थापाले आजकाल जथाभावी मुख छाडेर नेता तथा कार्यकर्तालाई गाली गरेको आरोप लागेको छ ।












प्रतिक्रिया