२५ कार्तिक २०८३, बुधबार

राप्रपा नेपालले गऱ्यो ८ निर्णय, हिन्दू राष्ट्रका लागि देशव्यापी संघर्षको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thap

काठमाडौं, २१ चैत । संसदको चौथो दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले हिन्दू राष्ट्रका लागि छिट्टै संविधान संशोधनको प्रस्ताव अघि सार्ने भएको छ ।

आइतबार वीरगञ्जमा सम्पन्न केन्द्रीय कार्य समितिको तीन दिने बैठकले संविधानमा पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्मका बीचमा समानता कायम राख्दै नेपाललाई हिन्दू राष्ट्रका रुपमा उल्लेख गर्न तथा धर्म निरपेक्षताको खारेजी गर्न संसदमा संविधान संशोधन प्रस्ताव राख्ने निर्णय गरेको हो ।

‘उक्त प्रस्ताव स्वीकृत नभएमा हिन्दुराष्ट्रबारे जनमत संग्रहको माग गर्दै पार्टीले देशव्यापी संघर्ष गर्नेछ,’ बैठकपछि राप्रपा नेपालद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

साथै बैठकले ८ वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा मधेस आन्दोलनको राजनीतिक समाधान, पार्टी तथा संगठनको जिल्ला परिषद जेठभित्र सम्पन्न गरिसक्नुपर्ने, प्रजातान्त्रि शक्तिबीच एकता प्रक्रिया अगाडि बढाउने लगायत रहेका छन् ।

यस्ता छन् ८ निर्णयः

१. राप्रपा नेपाललाई मुलुकको अग्रणी एवं बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रुपमा स्थापित गर्ने क्रममा समान विचारधारा भएका दल र समुहहरुसँग एकता र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिईने छ । यस सन्दर्भमा पार्टीको अलग पहिचान, विचार र नीतिको रक्षालाई एकताको मुल आधार बनाउन केन्द्रीय कार्य समिति वार्ता टोलीलाई मार्गदर्शन गर्दछ ।

२. पार्टीको केन्द्रीय परिषदको निर्णय अनुसार आगामी २०७३ साल जेष्ठ मसान्तभित्र जिल्ला परिषद सम्पन्न गरि जिल्ला कार्य समिति गठन गरि सक्नु पर्नेछ । पार्टी संगठनको सुदृढिकरण एवं निकट भविष्यमा हुने स्थानीय निकाय निर्वाचनलाई दृष्टिगत गर्दै निर्धारित समयभित्र नै जिल्ला परिषद अनिवार्य रुपमा सम्पन्न गर्नु पर्दछ । जेठ मसान्तभित्र जिल्ला परिषद हुन नसकेको अवस्थामा जिल्ला कार्य समिति स्वतः विघटन हुने यो बैठक निर्णय गर्दछ ।

३. संबिधान निर्माणको अन्तिम चरणदेखि नै विभिन्न मागहरु राखि मधेसमा भैरहेको आन्दोलनको समस्या समाधान राजनैतिक सहमति र वार्ताको माध्यमबाट हुनुपर्दछ । संबिधानसभा र हालको रुपान्तरित व्यवस्थापिका संसदमा तुलनात्मक रुपले कम संख्यामा रहेता पनि विभिन्न कारणले गर्दा मधेस आन्दोलन र त्यसले मुलुकको भविष्यलाई पार्नसक्ने प्रभावलाई न्युनिकरण गर्नु गंभीर भूल हुनेछ ।

निश्चय नै राजनैतिक अधिकारको लागि गरिने संघर्षको महत्व छ, तर मधेसका जनताको हित र समुन्नतिका लागि राजनैतिक अधिकारका साथै आर्थिक बिकासमा समेत जोड दिईनु पर्दछ भन्ने राप्रपा नेपालको धारणा रहेको छ । भौगोलिक सुगमता हुंदा हुंदै पनि मानविय बिकास सुचकांकमा मधेस पछाडि पर्नुको कारण आर्थिक विपन्नता र सामाजिक विकृतिहरु हुन । त्यसर्थ, आर्थिक र सामाजिक रुपले पछाडि परेका मधेसका जनताको हित र समुन्नतिलाई राप्रपा नेपालले उच्च प्राथमिकता दिनेछ । सिमाक्षेत्रमा बसोवास गर्ने बहुसंख्यक जनताको जीवनस्तर अत्यन्त कमजोर रहेको हुंदा त्यस क्षेत्रका जनताको शिक्षा, स्वास्थ्य र रोजगारिको अवस्था सुधार ल्याउन पार्टीले बिशेष प्याकेज कार्यक्रम संचालनमा जोड दिने छ ।

४. पार्टीले अवलम्बन गरेको उदार आर्थिक नीतिको व्याख्या तथा उक्त नीति अनुरुप देशको आर्थिक विकासको दीर्घकालिन परियोजना तयार गरी आगामी केन्द्रीय कार्य समितिको बैठकमा पेश गर्न कोषाध्यक्ष श्री उद्धव पौडेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

५. हिन्दुत्व प्रति जनचेतना अभिवृद्धि गर्न, हिन्दुराष्ट्र पुनस्र्थापनाको निमिक्त सशक्त दबाब सिर्जना गर्न, धर्म निरपेक्षताको आडमा योजनावद्ध र संगठित रुपमा भैरहेको धर्म परिवर्तनलाई निरुत्साहित गर्न तथा जातिय आधारमा मन्दिर प्रवेश निषेध, बाल विवाह, दहेज प्रथा जस्ता कुरितिहरुको अन्त्यका लागि दबाब दिन आगामी जेठ मसान्तभित्र देशको पचहत्तरै जिल्लामा हिन्दुत्व जागरण भेला तथा सभाहरु आयोजना गरिनेछ ।

६. संविधानमा पूर्ण धार्मिक स्वतन्त्रता र सर्वधर्मका वीचमा समानता कायम राख्दै नेपाललाई हिन्दुराष्ट्रका रुपमा उल्लेख गर्न तथा धर्म निरपेक्षताको खारेजी गर्न संसदमा राप्रपा नेपालले उपयुक्त समयमा संविधान संशोधन प्रस्ताव राख्ने छ । उक्त प्रस्ताव स्वीकृत नभएमा हिन्दुराष्ट्र बारे जनमत संग्रहको माग गर्दै पार्टीले देशव्यापी संघर्ष गर्नेछ ।

७. राप्रपा नेपाल समेत सहभागी भएको वर्तमान सरकारबाट जनताले स्पष्ट अनुभुत हुने गरि ठोस कार्य हुन नसकेकोमा यो बैठक गम्भिर चिन्ता प्रकट गर्दछ । त्यसर्थ महंगी नियन्त्रण गर्न, इन्धन लगायतका अति आवश्यक वस्तुहरुको आपूर्ति व्यवस्था सहज र सुलभ तुल्याउन, शान्ति सुरक्षा सुदृढ तुल्याउन, तस्करी र कालोबजारी नियन्त्रण गर्न, भ्रष्टाचार अन्त्य गर्न तथा वेरोजगारी समस्या समाधान गर्न एवं भुकम्प पीडितहरुको पुर्नस्थापना, तराई मधेश समस्याको समाधानको निमित्त सरकारले तत्काल प्रभावकारी कदम चालोस भन्ने राप्रपा नेपाल माग गर्दछ ।
साथै राप्रपा नेपालबाट प्रतिनिधित्व गर्ने मन्त्रिहरुले मुलुकको बृहत्तर हित र पार्टीको आदर्श प्राप्तिका निमिक्त अझ सशक्त ढंगबाट इमान्दारीपूर्वक काम गर्न तथा पार्टी कार्यकर्ताहरुको भावनाको सम्मान गर्न यो बैठक मार्गदर्शन गर्दछ ।

८. “हरेक वडामा राप्रपा नेपाल राष्ट्रिय अभियान” अन्तर्गत हालसम्म भएका कार्यप्रगति प्रति सन्तोष प्रकट गर्दै यो अभियानलाई २०७३ जेष्ठ मसान्तसम्म निरन्तरता दिईने छ । जेष्ठ मसान्तभित्र कार्य सम्पन्न गर्ने गरि केन्द्रीय सदस्यहरुलाई विशेष जिम्मेवारी तोक्न अभियान संंचालन कार्यविधिलाई परिमार्जन गरिनेछ । यसका साथै समस्याग्रस्त जिल्लाहरुको पहिचान गरि निकास निकाल्न विशेष समिति गठन गरिनेछ ।