काठमाडौं । ‘दोस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ सिल्ड प्रतियोगिता–२०७२’ चैत २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
‘हाम्रो अभियान, लोक संस्कृति संरक्षण, स्रस्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ चैत २८ गतेसम्म भृकुटीमण्डपमा चल्ने प्रतियोगितामा व्यावसायिक तथा लोकप्रिय दोहोरी गायकगायिकाले भाग लिने छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुने प्रतियोगितामा सहभागी हुन हालसम्म २२ दोहोरी साँझले आवेदन दिइसकेको प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले जानकारी दिए ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समूहले ७७ हजार ७७७ का साथै एउटा गीत रेकर्ड गर्ने स्टुडियो खर्च, छायाङ्कन खर्च र प्रवद्र्धन खर्च प्राप्त गर्नेछ ।
द्वितीयले ५५ हजार ५५५, तृतीयले ३३ हजार ३३३ र सात्वनाले ११ हजार १११ पाउने छन् ।
उत्कृष्ट गायक गायिकालाई नौ हजार ९९९ पुरस्कार प्रदान गरिनेछ ।
प्रतिष्ठानका अध्यक्ष शर्माले लोकसंस्कृतिका माध्यमले देशको सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै समग्र कला र गीत सङ्गीतको विकासमा टेवा पुगाउने उद्देश्य आफूहरुको रहेको बताए
पूर्वअध्यक्ष दुर्गा रायमाझीले पछिल्लो समयमा लोक दोहोरीमा केही छाडापन आएका गुनासा आएकाले त्यसलाई सुधार्न प्रतियोगिता उपगोगी हुने विश्वास गरे ।
पाँच दिनसम्म चल्ने प्रतियोगिताभर ख्यातिप्राप्त गायक गायिकाको प्रस्तुति, हास्य कलाकारको प्रदर्शन तथा आकर्षक नृत्य देखाइने आयोजकको भनाइ छ ।















प्रतिक्रिया