काठमाडौं, १८ चैत । बहुप्रसिद्धि कमाउनु भएका कालीबाबा मंगलबार भारतको दिल्लीबाट काठमाडौं आउनु भएको छ ।
हिन्दूराष्ट्र पुनर्स्थापनाको लागि विभिन्न अनुष्ठानलगायतका अभियान सञ्चालन गरी समय समयमा चर्चामा आउने गर्नु भएको कालीबाबा आकस्मिक रूपमा काठमाडौं आउनुको पछाडि कुनै विशेष रहस्य हुनसक्ने लख पनि मान्छेहरूले काटेका छन् ।
आफ्नो यो भ्रमणको मुख्यकारण काठमाडौंको गागलफेदिमा निर्माण हुन लागेको कालिका मन्दिर एवम् आश्रमको लागि भूमिपूजा रहेको बाबाले बताउनुभयो । जुन कार्य मङ्गलवार नै सम्पन्न भएको बताइएको छ । त्यस्तै पूर्व प्रधानसेनापति गरुण सम्शेर राणा विरामी रहनु भएकोमा उहाँलाई भेट्नु पनि उहाँको आगमनको अर्को कारण रहेको बाबाले पत्रकारहरूसँगको भेटमा बताउनुभयो ।
साथै पशुपतिनाथको दर्शन, हिन्दूराष्ट्र स्थापना अभियानको पनि केही काम भएको र सर्वसाधारण भक्तजनसँगको भेटघाट पनि भ्रमणको उद्देश्य रहेको उहाँको भनाइ थियो ।

काठमाडौंको कमलपोखरी स्थित अग्रवाल भवनमा भएको पत्रकार भेटघाटमा पत्रकारहरूबाट राजतन्त्रको स्थापनाको बारेमा सोधिएको प्रश्नको उत्तरमा बाबाले राजालाई स्थापना गर्ने जनताले हो, जोगी सन्यासीले त धर्मलाई स्थापना गर्ने हो र आफ्नो हिन्दूराष्ट्र स्थापनाको विषयमा दृढ विश्वास रहेको बताउनु भएको थियो ।
राजनीतिक क्षेत्रका नेताहरूको विश्वास नभएको र उनीहरूबाट देशको हितको पक्षमा काम नहुने अभिव्यक्ति दिँदै अब देश बचाउन, धर्म बचाउन जनता नै जाग्नुपर्ने र त्यसको लागि जनता एकजुट हुनपर्ने बेला आएकोतर्फ बाबाको जोड थियो । पत्रकार भेटघाटको संयोजनकारी भूमिका निर्वाह गर्नु भएका छायाचन्द्र भण्डारीका अनुसार बाबा बिहीवार मध्यान्ह दिल्ली प्रस्थान गर्नुहुनेछ ।

धर्मनिरपेक्षताको नाममा आएको डलर तर्फ लक्षित गर्दै बाबाले भन्नु भयो– ‘हेर्नुहोला नेताहरूले कुकर्म गरी आर्जन गरेको पैसाले कुनै पनि काम नदिने र अलपत्र पार्नेछ’ । धर्मनिरपेक्षताका पक्षधरहरू गलिसकेका छन् तर पनि उनीहरूको कुनै विश्वास छैन त्यसैले हिन्दूराष्ट्र स्थापना गर्न धार्मिक क्षेत्र एकजुट हुन जरुरी छ, बाबाको भनाइ थियो ।
दर्शन भेट्को लागि राजनीतिक व्यक्तिहरू कति आए भन्ने प्रश्नमा ‘यो आफ्नो राजनीतिक भेट्घाट नभएर जोगीनीतिको भेटघाट भएको हुनाले राजनीतिक क्षेत्रका र अन्य सबैतिरका भक्तजनसँग आफ्नो भेट्घाट भएको बाबाको भनाई थियो ।

पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्का, राप्रपाका सहअध्यक्ष प्रकाश चन्द्र लोहनी, नेपाल सरकारका वर्तमान राज्यमन्त्री कुन्तीकुमारी शाही लगायतका राजनीतिक व्यक्तित्त्वहरूले भेट गरेको स्रोतले बताएको छ । भने नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरूले पनि बाबालाई भेटेको बुझिएको छ ।
साथै विश्व हिन्दू महासंघका कार्यवाहक सभापति संहिता शास्त्री अर्जुनप्रसाद बास्तोला, शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक दीपक सुवेदीलगायतका धार्मिक प्रतिनिधिहरूसँग विशेष भेटघाट भएको बुझिएको छ ।













प्रतिक्रिया