काठमाडौं, १८ चैत । नेपाल विद्यार्थी संघमा रञ्जित कर्णले नेतृत्व सम्हालेपछि हुँदै आएको किचलोको अब अन्त्य हुने भएको छ । त्यसका लागि विद्यार्थी नेताहरूले आन्तरिक तयारी पनि गर्दै आएका छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने उमेरले पाँच दशक नजिक पुग्दै गरेका विद्यार्थी नेता जितजंग बस्नेत नेविसंघ अध्यक्षका लागि बलिया दाबेदार हुँ भन्दै हिँड्ने गरेका छन् ।
नेविसंघमा २०६४ पछि महाधिवेशन हुनसकेको छैन । नवौं महाधिवेशनपछि निर्वाचित कांग्रेसको पहिलो बैठकले लामो समयदेखि नेविसंघ, महिला संघ र तरुण दलको अधिवेशन ६ महिनाभित्र गर्ने निर्णय गरेको थियो ।
देउवाले भातृसंस्थाको अधिवेशन गर्न पूर्णबहादुर खड्का, बालकृष्ण खाँड, प्रकाशशरण महत, एनपी साउद र मीन विश्वकर्मालाई जिम्मा दिएका छन् ।
स्रोतका अनुसार रञ्जित कर्णका कारण नेविसंघ शिथिल बनेको ठहर गर्दै जीतजंगलाई अध्यक्ष बनाउन देउवा निकटको एउटा समूह सक्रिय भएर लागेको छ । तर यो सुइको पाएको देउवा निकटका विद्यार्थी नेता ऋषिकेश जंग शाहलगायतकाले नेविसंघ विघठन गर्न नहुने भन्दै विरोध गरिरहेको छ । नेता शाहले वर्तमान कार्यसमितिलाई नै नयाँ अधिवेशन गर्ने जिम्मेवारी दिनुपर्ने बताउँदै आएका छन् ।
जितजंग समूहले आफूलाई स्वघोषित नयाँ अध्यक्ष भन्दै दमदार प्रचार प्रसारमा लागेको छ । दुई साताअघि शंकरदेव क्याम्पसमा आफ्ना टोले गुन्डा लगाएर देउवा समूहका शुभराम बस्नेतलाई सांघातिक आक्रमण गराएका जितजंग आफैमा पनि गुन्डाको नाइके रहेको शुभराम समूहले आरोप लगाउँदै आएको छ । शुभराम समूहले जितजंगविरुद्ध प्रहरीमा कारबाहीको माग गरेर उजुरी पनि दिइसकेको छ ।
तर प्रहरी डराएर शंकरदेव क्याम्पसको कुटाकुटको मुद्दालाई अगाडि बढाउन चाहेको छैन । नेविसंघभित्रको आन्तरिक विवाद भन्दै प्रहरीले नेविसंघका नेताहरूलाई नै यो मुद्दा मिलाउनुस् भनेर जिम्मेवारी दिने गरेको छ ।
नेविसंघको राजनीतिमा कहिले काँही झुल्कने जितजंगको गुन्डागर्दीले कांग्रेसका केन्द्रीय नेताहरू समेत आजित भएका छन् । आफू नेविसंघको मनोनीत हुने अवस्था नदेखेपछि र आफ्नै गुटभित्रबाट विरोध हुन थालेपछि जितजंग गुन्डाशैलीमा भौतिक आक्रमणमा उत्रिएको शुभराम समूहले किटानी आरोप लगाउने गरेको छ ।












प्रतिक्रिया