काठमाडौ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काग्रेससँग आफू नेतृत्वको सरकारमा आउने मात्रै उपयूक्त बाटो भएको दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालको १८ औं बार्षिक उत्सव, चौथौ महाधिवेशन एवम पुरस्कार वितरण समारोहलाई संबोधन गर्दै उनले भने, ‘काग्रेससँग म नेतृत्वको सरकारमा आउने मात्रै बाटो उपयुक्त हो । दुई विकल्प भए पनि क्लबका अध्यक्ष ऋषि धमलाले भने जस्तो कांग्रेस यही सरकारमा आउने विकल्प उत्कृष्ट हो । त्यो बाहेक अर्को विकल्प अहिले देखिदैन ।’
कांग्रेसलाई ईमान जमानमा रहन सुझाव दिँदै प्रधानमन्त्री ओलीले विगतमा भएको सहमति तोड्ने जस्तो गल्ती सच्याउनुपर्नेमा जोड दिए ।
उनले आफूलाई प्रधानमन्त्रीको कुर्सी बस्नको लागि नचाहिएको स्पष्ट पार्दै भने, ‘मलाई प्रधानमन्त्रीको कुर्सी भारतसँगको सम्बन्ध सच्याउन र चीनसँगको सम्बन्ध नयाँ उचाईमा पुर्याउन चाँहिएको थियो । त्यो काम मैले गरेको छु ।’
उनले दुध खान गाई नै पाल्नु पर्ने भनाईसहित मधेसीहरुप्रति लक्षित गर्दै नारा जुलस गरेर दुध खान नपाईने स्मरण गराए । उनले भने, ‘भावावेशमा होईन अब देश विकासमा अघि बढ्नुपर्छ ।’
प्रधानमन्त्रीले नेपाल भारतविरुद्ध हुनै नसक्ने बरु भरपर्दो मित्र भएको उल्लेख गर्दै नेपालले भारतको कहिल्यै पनि अहित नचिताउने स्पष्ट पारे ।
उनले भने, ‘भारत नेपालको बहुआयामिक र ईतिहास भन्दा अघिदेखिको मित्र देश हो । केही असमझदारीहरु थिए । अहिले समाप्त भईसकेको छ । हामी दुबै छिमेकीसँग आत्मिय मैत्री सम्बन्ध राख्छौ । हामी नेपालको हितमा काम गर्छौ, कसैको अहितमा होईन ।’
प्रधानमन्त्रीले ९२ प्रतिशतले संविधान बनाए तर मैले भनेको मानेनन् भनेको कुरा आफूले नबुझेको उल्लेख गर्दै यति ठूलो प्रक्रियाबाट बनाएको संविधानलाई रातारात र सुटुक्क बनाएको भनि गरेको तर्क आफूले बुझ्न नसकेको तर्क गरे ।
मधेसवादी दलहरुप्रति लक्षित गरेर प्रधानमन्त्रीले भने, ‘केही मानिसहरु धु्रविकरणको कल्पना गरिरहेका छन । पहाडे, मधेसी, हिमाली भनेर झ्याली बजाउने प्रयासमा लागेका छन । जातजाति, भाष, भाषी नेपालको सुन्दरता हो उनीहरु जात थर र भुगोलको विचमा कलह उत्पन्न गर्न खोजिरहेका छन । यो सफल हुँदैन । नेपालमा अब झ्याम्टा बज्दैन । जनताका अधिकारहरु संस्थागत भईसके ।’
उनले दुई वर्षभित्र केरुङ र काठमाडौ सडक दुई लेनको बनाउन बैशाखमा छोटो बाटोबाट टेण्डर गरेर अघि बढाउने, काठमाडौ र पोखराको सडक यस्तो बनाउने कि यो सडक हो भन्ने होस भान हुने दावी गरे ।













प्रतिक्रिया