– विमल योगी
काठमाडौं, १७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन् ।
निर्वाचन अघि नै संसदीय दलको विधान संशोधन हुनुपर्ने अडान रामचन्द्र पौडेल समूहले राखेपछि त्यस विषयमा छलफल गर्न र संशोधन गर्ने विषय टुंगो लगाउन सभापति देउवाले चैत २२ गते विहान ८ बजे बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा संसदीय दलको बैठक बोलाएका हुन् ।
स्रोतका अनुसार विधान संशोधनको माग राख्दै असन्तुष्ट बनेको पौडेल समूहसँग वार्ता गर्न यसअघि सभापति देउवाले आफ्ना नजिकका नेता गोपालमान श्रेष्ठ, विमलेन्द्र निधी र पूर्णबहादुर खड्कालाई पौडेल निवास बोहोराटार पठाएका थिए ।
देउवा समूहका नेताहरुको छलफलमा पौडेल समूह सकारात्मक देखिएपछि थप छलफल गरी विधान संशोधन गर्नका लागि सभापतिले बैठक बोलाएका हुन् ।
यसअघि पौडेललाई सर्वसम्मत संसदीय दलको नेता बनाउन आएको प्रस्ताव देउवाले अस्वीकार गरिसकेका छन् । सभापति देउवा आफै संसदीय दलको नेता बन्ने तयारीमा छन् ।













प्रतिक्रिया