काठमाडौं, १५ चैत । ‘मेरो धरहरा म बनाउँछु’ भन्ने अभियान अन्तर्गत धरहरा पुनर्निर्माण कोषमा १८ लाख ४० हजार ९ सय ४० रुपैयाँ जम्मा भएको छ ।
वर्तमान मन्त्रिपरिषदमा रहेका मन्त्री, राज्य मन्त्री र सहायक मन्त्रीको एक महिनामा प्राप्त हुने पारिश्रमिक बराबरको रकम सोमबार कोषमा जम्मा भएको हो ।
धरहरा पुनर्निर्माण कोषमा अहिलेसम्म २० लाख ६६ हजार ४ सय ९५ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली लगायतले यसअघि नै कोषमा रकम जम्मा गरिसक्नुभएको छ ।
धरधरा पुनर्निर्माण कोषमा रकम जम्मा गर्नका लागि प्राधिकरणले गत फागुन ५ गते राष्ट्रिय वाणिज्य वैंकमा खोलेको खाताको नम्बर १४३०००१९८००१ रहेको छ । खातामा समाजका सबैपक्षबाट रकम जम्मा गरी मेरो धरहरा म बनाउँछु भन्ने अभियानमा सरिक हुन प्राधिकरणले सबैमा अनुरोध पनि गरेको छ ।
प्राधिकरणका अनुसार पुरातत्व विभागलाई अब बनाइने नयाँ धरहराको ड्रइङ, डिजाइन र लागत अनुमानको विस्तृत विवरण तयार गर्ने जिम्मेवारी दिइसकिएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशन र प्राधिकरणको समन्वयमा उक्त विभागले धरहरा निर्माण सम्बन्धी आवश्यक प्रकृया अघि बढाइरहेको छ । शुक्रबार ६ वटा परामर्शदाता फर्महरुलाई १५ दिनभित्र आ-आफ्नो ड्रइङ, डिजाइन र लागत अनुमान तयार गरी प्रस्ताव पेश गर्न जिम्मेवारी दिइसकिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।













प्रतिक्रिया