एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराई अहिले नयाँ शक्ति बनाउने दौडमा छन् ।
नयाँ शक्तिका लागि छलफल, अन्तरक्रिया र आन्तरिक तयारी गरिरहेका भट्टराईले पार्टी भित्र समानान्तर समिति बनाएको आरोप समेत लागेको छ । यसै विषयमा पार्टीमा लगातार छलफल पनि भइरहेको छ ।
यति नै बेला दक्षिणमुखीको आरोप लाग्ने गरेका भट्टराईलाई कारबाही गर्नुपर्ने कारणहरु समेटिएको एक पुस्तक प्रकाशित भएको छ । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी निकट अखिल नेपाल लेखक संघका महासचिव खेम थपलियाको ‘जनप्रतिरोधका १० दिन’ नामक पुस्तकमा उनलाई कारबाही गर्नुपर्ने कारणहरु उल्लेख छ ।
दोस्रो संविधानसभाको निर्वाचन बहिष्कार आन्दोलनमा केन्द्रित रहेको पुस्तकमा बहिष्कार आन्दोलनका पछिल्लो १० दिनमा घटेका घटनाहरुको दैनिकी समेत उल्लेख छ । विचारोत्तेजक लेख, ऐतिहासिक दस्तावेजहरु समेटिएको पुस्तकमा नेकपा–माओवादी, गोरखाले निर्वाचन बहिष्कार आन्दोलनको क्रममा प्रकाशित गरेको अपिल ‘डा.बाबुराम भट्टराईलाई कारबाही किन ?’ शीर्षक रहेको दस्तावेज पनि समावेश गरिएको छ ।
गृहजिल्ला गोरखामा भट्टराईलाई कारबाही गर्न माग गरिएका कारणहरु यस्ता छन् :
१. उत्पीडित जनसमुदाय र नेपाली क्रान्तिलाई धोका दिएको ।
२. साम्राज्यवादी तथा विस्तारवादी शक्तिको योजना र निर्देशनमा राष्ट्रिय सहमतिबिना असंवैधानिक र अलोकतान्त्रिक ढङ्गले राजनीतिक प्रक्रिया अगाडि बढाएको ।
३. राष्ट्रिय स्वाधीनतालाई तिलाञ्जली दिँदै देशलाई सिक्किमीकरणको दिशामा लगेको र गृहयुद्धतर्फ धकेलेको ।
४. भारतीय विस्तारवादसँग नाङ्गो दलाली गर्दै “मैले जुवा खेलेँ” भन्दै भारतसँग राष्ट्रघाती बिप्पा सम्झौता गरेको ।
५. सेना समायोजनको नाममा हजारौँ सहिदको बलिदानबाट निर्माण भएको जनमुक्ति सेनालाई विघटन गराएको ।
६. संविधानसभाको कथित दोस्रो निर्वाचन गर्ने वाहनामा नेपाली जनसमुदायमाथि सेना परिचालन गर्न मतियार बनेको ।
७. सर्वहारावर्गको प्रतिनिधि भएर सुकुम्वासी जनताको वस्तीमा क्रूर ढङ्गले डोजर लगाई वस्ती सखाप पारेको ।
– नेकपा–माओवादी, गोरखा















प्रतिक्रिया