२५ कार्तिक २०८३, बुधबार

ओलीको चीन भ्रमणबारे भारतीय विज्ञको रुखो टिप्पणी, पूर्वराजा महेन्द्रसँग तुलना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

SD-muni

काठमाडौं, १५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा नेपाल र चीनबीच महत्वपूर्ण सम्झौता भएपछि आत्तिएको भारतका एक जना नेपाल मामला विज्ञले ओलीको चीन भ्रमणबारे रुखो टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई पूर्वराजा महेन्द्र शाहसँग तुलना गर्दै भारतका नेपाल मामला विज्ञ एसडी मुनीले नेपालले चीनसँग गरेको सम्झौताबाट नआत्तिन नरेन्द्र मोदी नेतृत्वको सरकारलाई सुझाव पनि दिएका छन् ।

भारतको एक अंग्रेजी पत्रिका द हिन्दुमा लेख लेख्दै प्राध्यापक मुनीले विगतमा राजा महेन्द्रले भारतलाई तर्साउनका लागि चाइना कार्ड खेल्ने गरेको र अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सत्ता लम्ब्याउन र भारतलाई तर्साउन लागि चाइना कार्ड खेलेको आरोप लगाएका हुन् ।

यसअघि महेन्द्रले चीनसँग सम्झौता गर्न खोज्दा भारत आत्तिएको थियो । अहिले त्यसैगरी ओलीले चीनसँग पारवहन लगायत सम्झौता गरेपछि मुनीले महेन्द्र र ओलीलाई एकै श्रेणीमा राखेर तुलना गरेका हुन् ।

‘भारतविरोधी राष्ट्रवादलाई मलजल गरेर आफ्नो सत्तालाई मजबुत बनाउने दरबारिया रणनीतिलाई ओलीले पछ्याउनु नौलो कुरा होइन, किनकी उनको पार्टी नेकपा एमाले त्यही दरबारिया चिन्तनबाट निर्देशित शक्ति हो,’ मुनीले लेखेका छन् ।

प्रधानमन्त्री ओलीले चीनसँग गरेको १० बुँदे सम्झौता र समझदारीलाई नेपालमा ऐतिहासिक र अभूतपूर्व संज्ञा दिइएकोमा पनि मुनीले ‘नियालेर हेर्दा यी सम्झौताहरु कुनै ठोस काम गर्ने प्रतिवद्धताभन्दा पनि सांकेतिक रुपमा मात्रै आएका छन् ।’ भनेर लेखेका छन् ।

उनले चीनसँग गरिएका सम्झौता कार्यान्वय हुनै नसक्ने र कार्यान्वयनमा आए पनि धेरै दिन नटिक्ने दाबी गरेका छन् ।

अहिले ओलीले चाइना कार्ड खेलेको र त्यसविरुद्ध भारत उत्तेजित वा चिन्तित हुननपर्ने सुझाव दिँदै उनले ‘ओलीको कदमबाट चिन्तित भएर भारतले मधेस आन्दोलनका सन्दर्भमा ६ महिना अगाडि चालेको जस्तो कूटनीतिक कदम चाल्न आवश्यक छैन ।’ भनेका छन् ।