काठमाडौं, १३ साउन । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी घुस्याहा असईको कारण निलम्बनमा परेलगत्तै बुटवलकै अर्का डिएसपी पनि छानबिनमा परेका छन् । इप्रका बुटलका डिएसपीका दिनेश आचार्य असई रामप्रसाद पौडेलले घुस खाँदा निलम्बनमा परेका छन् भने जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक न्यौपाने पनि भ्रष्टाचारमा मुछिएका छन् ।
बुटवलमा विगत लामो समयदेखि घुमुवाका रुपमा कार्यरत असई रामप्रसाद पौडेलले १ लाख ५० हजार घुस लिंदा अख्तियारका प्रतिनिधिले पक्राउ गरेका थिए । असईको बयानका आधारमा अख्तियारले डीएसपी आचार्यलाई निलम्बन गर्न निर्देशन दिएको हो । अख्तियारले अनुसन्धानमा प्रभाव पार्न सक्ने र प्रमाण नष्ट समेत गर्न सक्ने भएकाले आचार्यलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखी पठाइएको जनाएको छ । तर डिएसपी आचार्य भने दुई सातादेखि बिदामा थिए । त्यसकारण असई पौडेलले नै डिएसपीलाई थाहा नदिई असुली गरेको बताइन्छ ।
गत बुधबार बुटवलको लक्ष्मीनगरमा मुद्दा मिलाईदिने भन्दै घुस लिदै गर्दा पौडेल समातिएका थिए । अख्तियारको नियन्त्रणमा रहेका पौडेलले कार्यालय प्रमुखको आचार्यको निर्देशनका घुस लिएको बताएपछि आचार्यलाई निलम्बन गर्न अख्तियारले निर्देशन दिएको बताइएको छ । तर डिएसपीको संलग्नताको अनुसन्धान भने भएको छैन ।
असई पौडेल भने सिपाहीहुदा देखि बुटवल क्षेत्रमा पैसा उठाउदै आएका व्यक्ति हुन् ।
यता जिल्ला प्रहरी कार्यालयमा कामु प्रमुखको जिम्मेबारी सम्हालेका डिएसपी दीपक न्यौपानेलाई कार्वाही गर्न नेपाली काँग्रेसले माग गरेको छ । अन्चल प्रहरी प्रमुख मिङमार लामालाई काँग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकको नेतृत्वमा गएको डेलिगेशन टोलीले तत्काल कार्वाही गर्न माग गरेको हो । नेपाली काँग्रेसले सर्वसाधारणसँग डिएसपी न्यौपानेले पैसा लिएर मात्र काम गरिदिने गरेको, लेनदेन कारोबारमा हात हाली पैसा खाएर गैर न्यायिक रुपमा हिराशतमा राख्ने गरेको, सेवाग्राहीमाथि दुब्र्यवहार गर्ने गरेको आरोप लगाएको छ ।
काँग्रेस क्षेत्रीय समितिका अध्यक्ष मातृका यादवले एसएसपी लामालाई डिएसपी न्यौपानेबिरुद्ध बुझाएको ज्ञापनपत्रमा बालविवाहको मुद्दा मिलाउन डिएसपी न्यौपानेले केटा पक्षबाट ५० हजार र केटी पक्षबाट २५ हजार घुस लिएको दावी समेत गरिएको छ ।
डिएसपी न्यौपाने शुरुदेखि नै विवादित छन् । उनीबिरुद्ध दुई मुद्दा अख्तियारमा समेत रहेका छन् ।













प्रतिक्रिया