काठमाडौं, १० चैत । मधेसी मोर्चाले यसपटकको होली पर्व तराई मधेस आन्दोलनका कारण नमनाउने आफ्ना कार्यकर्तालाई अपील गरेसँगै विभिन्न टिकाटिप्पणी भए ।
टिकाटिप्पणीसँगै मधेसी मोर्चाका केही शीर्ष नेताहरूको पुराना तस्बिरहरू सामाजिक सञ्जालमा आइहाले । र भनियो, ‘आफू भने होली खेल्ने कार्यकर्तालाई होली नखेल भन्ने ।’
के मधेसी मोर्चाका नेताहरूको तस्बिर यसपटकको होली खेलेको हो त ? यसका विषयमा चर्चापरिचर्चा भइरहेका छन् । जुन दलका नेताको तस्बिर सार्वजनिक भयो त्यो दलका प्रवक्ताले पुरानो तस्बिरलाई फेसबुकमा राखेर होली खेलेको भनेर बदनाम गरेको आरोप लगाएका छन् । हुन पनि तस्बिर अघिल्लो वर्षको जस्तो देखिन्छ ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्र राय यादवको होली खेलेको पुरानो तस्बिर फेसबकुमा राखेर कसले के गर्न खोजेको हो त्यसको रहस्य पछि खोजबिन होला तर यो विषयले सामाजिक सञ्जालहरू तत्तिएका छन् । आज तराईका जिल्लाहरूमा होली हर्सोल्लासका साथ मनाइ रहिएको छ ।
मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनीष सुमनले होली नमनाउन अपील मात्रै गरिएको बताउँनुहुन्छ । उहाँले भन्नुभयो, ‘पहिला जस्तो मन फुकाएर होली नखेलौ भनेको मात्रै हो । अर्थको अनर्थ लगाइनु हुँदैन । चाढपर्व आफू खुसी मनाउने स्वतन्त्रता सबैलाई छ । कसैले मलाई टीका लगाइदियो भने नाई भन्न सकिँदैन । तर म महिला जसरी होली यस पटक खेल्दिन ।’















प्रतिक्रिया