
आसाम, २३ फागुन । आसाम डाउन टाउन यूनिर्भसिटी र नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटिइभिटीबीच प्राविधिक शिक्षामा साझेदारी गर्न पहल शुरु भएको छ ।
प्राकृतिक विपत्तिमा परेका व्यक्तिको सहयोगका लागि आवश्यक ट्रमा र मृगौलाका लागि आवश्यक डाइलोसिस सुबिधा विस्तार गर्ने विषयमा द्वीपक्षीय अन्तरक्रिया सम्पन्न भएको छ । पाठ्यक्रम विकासकै लागि सिटिइभिटी र यूनिर्भसिटीका उच्च अधिकारीबीच सम्वाद भएको हो ।
प्राविधिक शिक्षाका नेपालमा भित्र्याउने उद्देश्यले दुई वटा शैक्षिक संस्थाबीच सहकार्यको थालनी गरिएको आसाम डाउन टाउन यूनिर्भसिटीका नेपाल संयोजक शंकर भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार अध्ययन भ्रमणपछि ट्रमा र डाइलोसिसका लागि सिटिइभिटीले पाठ्यक्रम तयार गर्ने छ । कार्यक्रममा आसाम डाउन टाउन विश्वविद्यालयका अध्यक्ष तथा प्रमुख कार्यकारी निर्देशक एनएन दत्त, भाइस चान्सलर रमेश सी डेका, सिटिइभिटीका पाठ्यक्रम निर्देशक दीपक पौडेल, पाठ्यक्रम अधिकृत विनोद बडाल, स्वास्थ्य संयोजक विनोद थापा, विश्वविद्यालयका नेपाल संयोजक शंकर भट्टराई, एड्मिशन अफिसर मनोज खनाल, पत्रकार अजित तिवारी तथा विश्वविद्यालयका उच्च अधिकारीहरुले प्राविधिक शिक्षाको सम्भावनाका विषयमा टिप्पणी गरेका थिए ।
सिटिइभिटीका पाठ्यक्रम निर्देशक दीपक पौडेलले नेपालीभाषीको बाहुल्य रहेको आसाममा रहेको विश्वविद्यालयसँगको सहकार्यले प्राविधिक शिक्षामा फड्को मार्न सक्ने सम्भावना रहेको बताएका छन् । गुवाहटीस्थित आसाम डाउन टाउन विश्वविद्यालयका उपकुलपति डाक्टर रमेश डेकाले ट्रमा र डायलोसिसको अध्ययनका लागि सिटिइभिटीलाई सबै किसिमको सहयोग गर्ने प्रष्ट पारे । ‘ट्रमा र डायलोसिसको प्राकृतिक प्रकोपको जोखिम भएका देशमा धेरै छ, समग्रमा यसको माग विश्वव्यापी माग छ’, डेकाले भने – ‘सिटिइभिटीलाई पाठ्यक्रम, शैक्षिक र प्राविधिक सहयोग गर्न हामी तयार छौँ ।’ आसाम डाउन टाउन विश्वविद्यालयमा ट्रमा र डायलोसिसको पढाई हुन्छ । उक्त विश्वविद्यालयमा नेपालका २ सय ५० भन्दा धेरै विद्यार्थी अध्ययनरत छन् ।
प्राकृतिक विपत्तिमा परेका नागरिकको उद्धार, प्राथमिक उपचार र गम्भीर घाइते भए उपचारका लागि रेफर गर्नेसम्बन्धी शिक्षा ट्रमा अन्तरगत पर्दछ । मृगौलाका बिरामीको उपचारमा डाइलोसिस उपयोगी हुने गरेको छ । ‘नेपाल पनि प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको छ’, संयोजक भट्टराईले भने – ‘त्यसैले यो विषय धेरै महत्वपूर्ण छ, यसको स्कोप राम्रो छ ।’












प्रतिक्रिया