१ कार्तिक २०८३, शनिबार

उत्तर कोरियाविरुद्ध अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UN Security Councilसंयुक्त राष्ट्रसंघ, १८ फागुन । संयुक्त राष्ट्रसंघका तर्फबाट उत्तर कोरियाका विरुद्धमा लगाइने नाकाबन्दीका बारेमा आज संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् मतदान हुने भएको छ ।

अमेरिकाले उत्तर कोरियाविरुद्ध नाकाबन्दी गर्न तयार पारेको प्रस्तावका विषयमा मतदान गर्न लागिएको राष्ट्र संघले जनाएको छ ।

उत्तर कोरियाले गरेको यसै महिनाको सुरुवातको आणविक परीक्षणका विरुद्धमा सो नाकाबन्दी लगाउन थालिएको हो ।

परिषद्को १५ सदस्यीय समितिमा उत्तर कोरियाका विरुद्धमा लगाउन लागिएको नाकाबन्दीका बारेमा यसअघिका कैयौं हप्तासम्म छलफल भएको थियो ।

उत्तर कोरियाका विरुद्धमा प्रस्ताव गरिएको यो नाकाबन्दी अहिलेसम्मकै सबैभन्दा कडा खालको रहेको बताइएको छ ।
विश्व समुदाय र संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दा पनि उत्तर कोरियाले आणविक परीक्षण गरिरहेकाले नाकाबन्दी लगाउने तयारी गरिएको हो ।

नयाँ नाकाबन्दीसम्बन्धी प्रस्ताव अमेरिकाले चीनसँग पनि परामर्श गरेर तयार गरेको बताइएको छ । चीन उत्तर कोरियाको एक निकटको सहयोगी हो ।

उत्तर कोरियाले फेब्रअरी ७ मा नयाँ आणविक परीक्षणस्वरुप लामो दुरीको रकेट परिक्षण गरेको थियो । त्यस घटनालाई उसले आफ्नो देशले गरेको एक बृहत कार्य एवम् आणविक क्षेत्रको प्रगतिका रुपमा निकै प्रचार गरेको थियो ।

संयुक्त राष्ट्रसंघले यसअघि पनि उत्तरलाई धेरै पटकसम्म यस्तो आणविक परीक्षणको काम रोक्न आग्रह गरेको थियो । तर उसको आग्रहका बाबजुत पनि उत्तरले भने यो छैठौं पटकसम्म यस्तो परीक्षण गरेको हो ।

सो परीक्षणपछि उत्तर कोरियाका विरुद्धमा दक्षिण कोरियामात्र नभएर विश्व समुदाय नै देखिएको छ । जसका कारण पनि गएको करिब महिनादिनदेखि उत्तर कोरिया विश्व समुदायबाट एक्लिएको छ ।

उत्तरले ठूलो मूल्य चुकाउनुपर्ने दक्षिण कोरियाको चेतावनी

यसैबीच दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले आफूले गरेको आणविक परीक्षणको लागि यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ । उहाँले आणविक परीक्षणको दम्भले लामो समयसम्म विश्वसामु शासन गर्न नसक्ने बताउनुभयो । उत्तर कोरियाले विश्वमा बाँच्ने एकमात्र आधार भनेको उसले अपनाउनुपर्ने निशस्त्रीकरणको उपायमात्र भएको उहाँको भनाइ थियो ।
राष्ट्रपति पार्कले आज दिनुभएको टेलिभिजन सम्बोधनका क्रममा भन्नुभयो– उत्तर कोरियाको अनावश्यक उत्तेजनाको समर्थन गर्नु भनेको आगामी दिनमा पनि उसलाई यस्तै अर्काे परीक्षणका लागि उन्मुक्ति दिनुजस्तो हो, त्यसैले उसको यो गलत कार्यको प्रतिबाद सशक्त रुपमा गर्नु जरुरी छ ।

राष्ट्रपति पार्कले संयुक्त राष्ट्रसंघलाई पनि कडाभन्दा कडा नाकाबन्दी लगाई उसले गरेको गल्तीको महसुश गर्ने अवस्थाको सिर्जना गर्न पनि आग्रह गर्नुभएको छ । रासस/एएफपी