
– विमल योगी
काठमाडौं, १६ फागुन । १३ औं महाधिवेशनको दौडमा रहेको देशकै ठूलो दल नेपाली कांग्रेसको आज ‘अन्तिम’ बैठक बस्यो ।
पार्टी कार्यालय सानेपामा बसेको बैठक अरु दिनभन्दा भिन्नै थियो । नेताहरु शान्त देखिन्थे । अरु दिन आक्रोशित भएर बोल्ने नेताहरु आज शालिन र नरम भएर बोलेका थिए ।
बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका कार्यबाहक रामचन्द्र पौडेलले भावुक हुँदै आँसु नै खसाले । उनले आजसम्म साथ सहयोग र समर्थन गर्ने सबै नेताहरुलाई विदाई धन्यवाद दिए । उनले प्रस्तुत गरेको कार्यक्रम बहुमतबाट पारित भयो त्यसमा केही नेताहरुले मिठासपूर्ण विरोध र सुझाव दिए ।
कांग्रेस केन्द्रीय सदस्य महेन्द्र शर्माका अनुसार अरु दिन निकै आक्रामक शैलीमा प्रस्तुत हुने वरिष्ठ नेता शेरबहादुर देउवा पनि नरम थिए । नेताहरु पनि मायालु स्वरमा बोल्दै मिठासपूर्ण विरोध गरेका थिए । सबै केन्द्रीय सदस्यहरु भावुक थिए ।
सधै कुकुर विरालोजसरी प्रस्तुत हुने नेताहरुले सभ्य र सालिन व्यवहार बैठकमा प्रस्तुत गरेका थिए ।
नेता शर्माले भने- ‘सम्भवतः यो अन्तिम बैठक भएर होला सबै साथीहरु भावुक देखिन्थे । अब आकस्मिक बाहेक अर्काे बैठक महाधिवेशनपछि नयाँ नेतृत्वसहित बस्नेछ ।’
कांग्रेस महाधिवेशन यही फागुन २० देखि २३ सम्म काठमाडौंमा हुँदैछ । सभापतिका लागि संस्थापनबाट रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह, सुजाता कोइराला र यता शेरबहादुर देउवा एक्लै भिड्दैछन् ।
बैठकमा आज के–के निर्णय भयो ?
नेपाली कांग्रेसमा पदाधिकारी थप गर्ने संस्थापन समूहको प्रस्ताव अस्वीकृत भएको छ ।
संस्थापन समूहले पदाधिकारी थप गरेर मुलुकमा भएको परिवर्तनअनुसार संघीय संरचनालाई महत्व दिन खोजेको थियो । तर वरिष्ठ नेता शेरबहादुर देउवा समूहले पदाधिकारी थप्न नहुनेभन्दै जोडदार रुपमा धारणा राखेपछि पदाधिकारी थप गर्ने विषयले ठोस सहमति पाउन नसकेको हो ।
पदाधिकारी थप गर्ने निर्णय गर्न नसकेको कांग्रेसले प्रदेशहरुलाई दुई दुई केन्द्रीय सदस्य दिने निर्णय गरेको छ । अञ्चललाई दिइदै आएको एक केन्द्रीय सदस्यमा थप गरेर एउटा प्रदेशमा दुई केन्द्रीय सदस्य दिने निर्णय भएको केन्द्रीय सदस्य महेन्द्र शर्माले जानकारी दिनुभयो । ‘पहिला अञ्चलको संरचना थियो । त्यसलाई खारेज गरेर प्रदेशको संरचनामा जाने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘एउटा प्रदेशलाई दुई केन्द्रीय सदस्य दिइने निर्णय भएको छ ।’
कांग्रेस बैठकले कार्यबाहक सभापति रामचन्द्र पौडेलको संशोधनसहित आएको नीति तथा कार्यक्रमलाई पारित गरेको छ । यो नीति तथा कार्यक्रमलाई १३औँ महाधिवेशनको हलमा पेस गरिनेछ ।
संभवत कांग्रेसको आजको केन्द्रीय कार्यसमिति बैठक अन्तिम भएको केन्द्रीय सदस्य शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको केन्द्रीय कार्यसमितिको बैठक अन्तिम हो । सायद अब अर्को बैठक बस्ने छैन । १३औँ महाधिवेशनबाट आउने नयाँ कार्यसमिति कै बैठक अब बस्नेछ ।’
तस्वीरः ईकान्तिपुरबाट















प्रतिक्रिया