काठमाडौं, फागुन १५ । नेपाल ट्रेड युनियन कँग्रेसका केन्द्रीय सदस्य आत्माराम पौडेलले नेपाली कांग्रेसको १३औं महाधिवेशनमा काठमाडौंबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन ।
आफू निकट क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, भातृ संगठनका प्रमुखहरुको भेलाबाट उनले उम्मेदवारी घोषणासँगसँगै चुनावी अभियानसमेत शुरु गरेका छन् । पौडेलले आफ्नो उम्मेदवारी श्रमजीविको पक्षमा र देशलाई आर्थिक विकास गरी स्वदेशमै रोजगारी सृजना गर्नका लागि भएको जानकारी दिए । राज्यले नै आर्थिक क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिने पौडेलले ठूल्ठूला संस्थानहरु सञ्चालन गरेर देशलाई आत्मनिर्भर गराउन र देशमै रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिन्छन् ।
नेपाली नागरिकको श्रमले विभिन्न देशले प्रगति गरे पनि देशको अवस्थामा उनीहरुको भूमिका खोज्नुपर्नेमा जोड दिने पौडेलले आफू केन्द्रीय सदस्य भएपछि पार्टीलाई संस्थागत, मर्यादित र अनुशासित बनाउन लागिपर्ने तथा देशलाई आत्मनिर्भर बनाउनका लागि आर्थिक बिकासमा काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । उनी नेपाल टे«ड युनियन कांग्रेसका तर्फबाट पार्टीको केन्द्रीय समितिको आधिकारिक उम्मेदवारसमेत हुन् । लामो समयसम्म नेपाली कांग्रेसमा इमानदारीसाथ काम गरेका पौडेलका लागि उनको लोकप्रियता नै चुनाव जित्ने हतियार भएको छ । त्यसो त उनी काठमाडौंका बौद्धिक, भद्र र विकासप्रेमी नेताका रुपमा समेत परिचित छन । पदको कहिल्यै लोभ नगर्ने पौडेललाई यस पटक शीर्ष नेताहरुले नै केन्द्रीय सदस्यको उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।
नेपालको मजदुर क्षेत्र, बौद्धिक क्षेत्र र नेपाली कांग्रेसका नेता–कार्यकर्तामाझ प्रभावशाली छविसमेत पौडेलको छ । नेपाली कांग्रेसलाई नेतृत्व प्रधानको पार्टी भन्दा भिजन प्रधानको पार्टी बनाउनुपर्नेमा जोड दिने पौडेलले केन्द्रीय समितिमा देशको सामाजिक, आर्थिक बिकास मुख्य एजेण्डा बन्नुपर्नेमा जोड दिन्छन् । राष्टियता, लोकतन्त्र र समाजवाद मूलमन्त्र भए पनि नेपाली कांग्रेसमा यसको व्यावहारिक प्रयोग नभएको भन्दै पौडेलले नेपाली कांग्रेसले व्यवहारमै प्रजातन्त्रको अनुभूति हुने नेतृत्व खोजिरहेकोमा जोड दिएका छन् । पौडेललाई नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले समेत विजयी बनाउनका लागि आह्वानसमेत गरेको छ ।
३६ वर्षदेखि कांग्रेसमा क्रियाशील
आत्माराम पौडेल नेपाली राजनीतिमा झण्डै ३६ वर्षदेखि निरन्तर क्रियाशील छन् । पत्रकारिता र विद्यार्थी राजनीतिबाट नेपाली राजनीतिमा प्रवेश गरेका उनी निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन । विस. २०१० साल साउन ३० गते काठमाडौंमा जन्मिएका पौडेलले ३०३६ सालमा बहुदलको प्रचार गर्ने क्रममै राजनीतिमा आवद्ध भएका हुन । अहिलेको शंकरदेव क्याम्पस (तत्कालीन राष्ट्रिय क्याम्पस)मा पढ्दादेखि नै राजनीतिमा सक्रिय भएका हुन् । उनले त्यतिबेला ‘जमरा’ नामको पत्रिका निकालेर बहुदलको प्रचारप्रसार गरेका थिए । पौडेलकै नेतृत्वमा काठमाडौं, कपनस्थित बालउद्धार उच्च माध्यमिक विद्यालय, चुनीखेलको जनउद्धार माध्यमिक विद्यालय, कपनकै जनजागृति माध्यमिक विद्यालयलगायत झण्डै एक दर्जन विद्यालयको स्थापनासमेत भएको थियो । हाल ती विद्यालयहरु काठमाडौंमा उच्च माध्यमिक विद्यालय तथा बहुमुखी क्याम्पसका रुपमा सञ्चालित छन् । विस. २०४२ सालमा भएको सत्याग्रहमा प्रहरी हिरासतसमेत परेका पौडेलले २०४६ सालको जनआन्दोलनका बेला काठमाडौंको उत्तरपूर्वी क्षेत्रबाट आन्दोलनको नेतृत्व गरेका थिए । नेपाली कांग्रेसमै सक्रिय रहँदै आएका उनी नेपाली कांग्रेसका तर्फबाट काठमाडौंको कपन गाउँ विकास समितिको गाविस अध्यक्ष बनेर विभिन्न विकास निर्माणलगायतका काम गरेका छन् । उनी काठमाडौंका लोकप्रिय गाविस अध्यक्षमा पर्छन् । लामो समयसम्म नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको सदस्य बनेका उनी नेपाली कांग्रेसको क्षेत्रीय सभापतिसमेत भए ।
पटक–पटक महासमिति सदस्य बनेका पौडेल नेपाली कांग्रेसमा बौद्धिक, भद्र, समाजसेवी, नेतृत्वदायी र मिलनसार नेताका रुपमा आफ्नो छवि बनाएका छन् । त्यही लोकप्रियताका कारण यस पटक उनी तेस्रो पटक महासमिति सदस्य बनेका हुन् । उनी दोस्रो संविधानसभाको चुनावमा समानुपातिक सभासद्का लागि सिफारिससमेत भएका थिए । नेपाल टे«ड युनियन कांग्रेसमा १७ वर्षदेखि क्रियाशील छन् । पौडेल अहिले नेपाल टे«ड युनियन कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका छन् । कांग्रेसमा उनले श्रमिकको नेताका रुपमा चिनिन्छन् ।
नेपालमै रोजगारीको व्यवस्था गर्नु उनको मुख्य उद्देश्य रहेको छ । राज्यले देशमै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिने पौडेलले देशका संस्थानहरु निजीकरण गर्ने कदमको विरुद्धमा छन् । राज्यले रोजगारी सृजना गरेर सस्तोमा श्रम बेच्न बाध्य लाखौं नेपाली नागरिकलाई स्वदेश फर्काउनुपर्नेमा पौडेल जोड दिन्छन् ।












प्रतिक्रिया