काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा प्रस्तावित नीति तथा कार्यक्रमलाई पुनः लेखन गर्ने निर्णय गरेको छ ।
ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नीति तथा कार्यक्रमलाई सुझावसहित पुनः लेखन गर्ने निर्णय गरेको प्रवक्ता दिलेन्द्रप्रसाद बडूले जानकारी दिनुभयो । ‘कार्यबाहक सभापति रामचन्द्र पौडेलले पेश गर्नुभएको १३औँ महाधिवेशनको नीति तथा कार्यक्रम पुनः लेखन गर्ने निर्णय भएको छ’, उहाँले भन्नुभयो, ‘बैठकमा आएका सुझावहरूसहित नीति तथा कार्यक्रम तयार हुनेछ ।’
बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले प्रस्तावित नीति तथा कार्यक्रमको भाषादेखि त्यसमा राखिएका विषयवस्तु उपयुक्त नरहेको भन्दै आलोचना गरेको केन्द्रीय सदस्य पार्वती डिसी चौधरीले जानकारी दिनुभयो ।
सुझावहरू समेटेर पुनः लेखनका लागि भोलि शुक्रबार केन्द्रीय नीति तथा प्रशिक्षण विभागको बैठक बस्ने भएको छ । बैठक दुई बजेका लागि बोलाइएको छ । आजको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा पूरै समय बस्नु भएको थियो ।















प्रतिक्रिया