काठमाडौँ, ६ साउन । प्रधानमन्त्री सुशील कोइराला संयुक्त राज्य अमेरिकामा एक महिना लामो स्वास्थ्योपचार सकेर मंगलबार राति स्वदेश आइपुग्नुुभएको छ ।
साँझ ८ : ४५ बजे आइपुग्नुभएका प्रधानमन्त्री कोइरालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अमेरिकामा स्वास्थ्योपचारपछि आफूले पूर्ण स्वास्थ्यलाभ गरेको र अब शान्ति र संविधानका कामहरु तीव्र गतिमा अगाडि बढाउने बताउनुभयो ।
उहाँले उपचारपछि आफू पूर्णरुपमा स्वस्थ्य भएको जानकारी गराउनु हुँदै अब छिट्टै २६ सभासद् मनोनयन, अन्य महत्वपूर्ण नियुक्तिहरु हुने र विस्तारै सबै ठीक हुनेछ भन्नुुभयो ।
प्रधानमन्त्री कोइरालले एक महिना लामो उपचारका क्रममा आफ्नो स्वास्थ्योपचारमा चासो राखी शीघ्र स्वास्थ्य उपचारका लागि प्रेरित गर्नुहुने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
उहाँले संविधानसभा निर्वाचनमा नेपाली जनताले अभिव्यक्त गरेको जनादेशअनुरुप एक वर्षभित्र गणतन्त्रसहितको लोकतान्त्रिक संविधान जारी गर्न अब सहमतिका साथ तीव्र गतिमा अघि बढ्ने जानकारी गराउनुभयो ।
नेपाली जनतालाई सुखी र समृद्ध बनाउने बजेट ल्याउनुपर्ने बेलामा आफू एक महिनाभन्दा बढी समय सक्रिय रहन नपाएकामा भने असजिलो महसुस भएको प्रधानमन्त्री कोइरालाले बताउनुभयो ।
आफ्नो अनुपस्थितिमा पनि मुलुकको दैनिक प्रशासन र अन्य संविधान निर्माणलगायत कार्यहरु, राजनीतिक दलहरुमा विकसित उच्चस्तरको सहमतिलाई कायम राख्दै प्रजातान्त्रिक पद्धतिअनुरुप सहमति सहकार्य, एकता र मेलमिलापको आधारमा संस्थागतरुपमा जनचाहना अनुरुप नै सम्पादन हुँदै आएकामा भने उहाँले खुसी व्यक्त गर्नुभयो ।
सो क्रममा प्रधानमन्त्रीका निजी चिकित्सक डा करवीरनाथ योगीले प्रधानमन्त्रीको स्वास्थ्य उपचारका सम्पूर्ण जानकारी गराउँदै रेडियोथेरापी विधिको उपचारपछि फोक्सोमा देखिएको सङ्क्रमण निको भएको बताउनुभयो ।
साथै उहाँले तीन महिनापछि ‘फलोअप’ जाँचका लागि सोही अस्पताल जानुपर्ने जानकारी दिनुभयो ।
सोही क्रममा सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले प्रधानमन्त्री कोइरालाको एक महिना लामो उपचारका क्रममा भएका उच्चस्तरीय भेटघाट र सम्पर्कका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रधानमन्त्री कोइराला अमेरिकाको न्यूयोर्कस्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको उपचारपछि स्वास्थ्यलाभ गरी आज स्वदेश फर्कनुभएको हो ।
प्रधानमन्त्रीलाई ‘ब्रोङ्काइटिस्’ भएका कारण चिकित्सकको सल्लाहअनुसार फोक्सोमा देखिएको क्यान्सरको सङ्क्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधिमार्फत उपचार गरिएको थियो ।
काठमाडौँमा स्वास्थ्यजाँचका क्रममा प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतो दाग देखिएपछि थप उपचारका लागि गत असार २ गते उहाँ अमेरिका प्रस्थान गर्नुभएको थियो ।
प्रधानमन्त्री कोइरालालाई विमानस्थलमा सभामुख, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सुरक्षा निकाय र अन्य सरकारी निकायका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।














प्रतिक्रिया