
काठमाडौं, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण नजिकिंदै गर्दा भारतीय राजदूत रञ्जीत रेको पनि सक्रियता बढेको छ ।
राजदूत रेले मंगलबार एकैदिन प्रधानमन्त्री ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालाई भेटेका छन् ।
बिहान प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका राजदूत रेले दिउँसो देउवालाई भेटेका थिए भने सांझ प्रचण्डलाई लाजिम्पाटमा भेट गरेका थिए । तीन वटै भेटमा भारतीय राजदूत रे ले भारत भ्रमण जानु अघि मधेशी मोर्चाको माग सम्बोधनको लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्न दबाब दिएका थिए ।
भारतीय राजदूतले मधेशीको माग सम्बोधनको लागि उच्चस्तरीय समिति गठन गरे भारत भ्रमण निकै फलदायी र सकारात्मक हुने कुराको विश्वास दिलाएका थिए । राजदूत रेले भारतीय राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री र विदेशमन्त्रीदेखि लिएर विपक्षका नेताहरूसंगको भेटघाटमा मधेशकै मुद्दा प्रमुखताका साथ उठ्ने भएकाले यस मुद्दालाई समाधान गरेर जाँदा नै राम्रो हुने जिकिर गरेको स्रोतले बताएको छ ।
भारतीय राजदूतको दबाबपछि हिजो ११ बजे भनिएको संसद बैठक दिउँसो २ बजे बसेको र सोही अनुसार प्रधानमन्त्रीको वक्तव्य आएको थियो ।
प्रधानमन्त्री संगै राजदूत रेले दिउँसो देउवा र साँझ प्रचण्डलाई भेटी मधेशीको माग सम्बोधनको लागि भ्रमण अगावै आपसी समझदारीमा राजनीतिक संयन्त्र बनाउन दबाब दिएका थिए ।
पछिल्लो समय एकाएक सेलाएका भारतीय राजदूतले प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएसँगै दिल्लीको निर्देशनमा चलखेल सुरु गरेका छन् ।















प्रतिक्रिया