३१ आश्विन २०८३, शनिबार

ओखलढुंगा कांग्रेसमा संस्थापनको उम्मेदवारी घोषणा, चार पूर्व सभापतिको समर्थन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congressओखलढुंगा, २४ माघ । ओखलढुंगा कांग्रेसमा संस्थापन पक्षबाट उम्मेदवार घोषणा गरिएको छ ।

सोमबार हुने १३ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षले बालकृष्ण दाहाललको नेतृत्वमा प्यानल घोषणा गरेको हो । आइतबार साँझ जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर सभापतिमा बालकृष्ण दाहाल, सचिवमा राजाबाबु किराती र कोषध्यक्षमा बिनोत ताम्राकारलाई उम्मेदवार बनाएको छ ।

पूर्व सभापति तथा पूर्व सांसद बालाराज कार्कीले शहिद पुत्र बालकृष्ण दाहालको उम्मेदवारी घोषणा गर्दै कांग्रेसमा अनुशासन र सुशासन कायम राख्न दाहाललाई अगाडि सारेका बताउनुभयो । दाहालको पक्षमा पूर्व सभापति पृथ्वीबहादुर कार्की, महेश कोर्मोचा, गोमा केशी, पूर्व उपसभापति टेकराज भट्टराई, वर्तमान सचिव रामजी बास्तोला, पुराना नेता दुर्योधन गिरी, अशोक कार्की, युवा नेताहरु कुमार लुइटेल, कमल तामाङ लगायतका नेताहरुले दाहाललाई अगाडी सारेका हुन् ।

२०३१ सालको टिम्बुरबोटे काण्डका सहिद लीलानाथ दाहालका पुत्र बालकृष्णले पहिलो पटक जिल्ला सभापतिमा उम्मेद्वारी दिएका हुन् । लामो समयसम्म काँग्रेस नेता गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिव भई काम गरेका दाहाल केन्द्रमा राम्रो प्रभाव जमाउने नेताका रुपमा चिनिन्छन् । दुईपटक सम्म क्षेत्र नं. १ मा सांसदको टिकट ल्याएपनि पराजित भएका दाहालले पराजित हुनुको मुख्य कारण नै जिल्लाको नेतृत्व र संगठनको कमजोरी भएको भन्दै आफै नेतृत्वको लागि उम्मेद्वार बनेको बताएका छन् ।

देउवा पक्षले जिल्लामा पार्टीभित्र र बारि समेत दलाली भ्रष्टाचार गरी पार्टी नीति विपरित काम गरेको आरोप लगाउँदै कांग्रेस जोगाउन शहिद पुत्र दाहाललाई अगाडी सारिएको बताएका छन् । देउवा पक्षबाट वर्तमान सभापति प्रदीप सुनुवार प्रत्यासी रहेका छन् । दुईदिन अघि सम्पन्न क्षेत्रीय अधिवेशनमा अल्पसंख्यक कोटाबाट पूर्वसभापति महेश कोर्मोचालाई पराजित गरि महाधिवेशन प्रतिनिधि बनेका सुनुवारलाई समेत दाहालको उम्मेद्वारी कठिन चुनौति भएको विश्लेषण गरिएको छ ।

आफ्नै प्यानलका ट्रेड युनियन काँग्रेस केन्द्रिय अध्यक्ष खिलानाथ दाहाललाई अन्तरघात गरि पराजित गरेको कारण पनि सुनुवारका विरुद्धमा देउवा प्यानलकै केही नेताले समेत समर्थन जनाएको बताइएको छ ।

देउवा पक्षमा साँसद रामहरि खतिवडा, १ नं. क्षेत्रका क्षेत्रीय सभापति दानबहादुर बानिया, युवा नेता रुद्र अधिकारी लगायत रहेका छन् । संस्थापन पक्ष विभाजित हुँदा यस अघि सभापति जितेका सुनुवारका लागि संस्थापन पक्षले एउटै उम्मेदरवार अघि सारेपछि देउवा पक्ष नराम्ररी पराजित हुने कांग्रेसजनमा चर्चा शुरु भएको छ ।

केन्द्रिय सदस्यका आकांक्षी साँसद रामहरि खतिवडा, वर्तमान सभापति सुनुवारलगायतका नेताहरु टे«ड युनियनका अध्यक्ष खिलानाथ दाहाललाई हराउन भूमिका खेलेकाले देउवा पक्ष कमजोर भएको देउवा पक्षका एक नेताले बताए । अन्तर्घात शुरु भएपछि देउवा पक्ष निकट रहेकी पूर्व सभापति गोमा केशी पनि संस्थापन पक्षमा खुलेर लागेकी छिन् ।