
काठमाडौं, २१ माघ । आन्दोलनमा सहयोग माग्दै विहार गएका मधेसी मोर्चाका नेताहरुको युवा संघ नेपालले हिसाबकिताब गर्ने भएको छ ।
विहीबारदेखि उदयपुरको गाइघाटमा सुरु भएको युवा संघ नेपाल तल्लो सगरमाथा अञ्चलको पहिलो अधिबेशनको उदघाटन गर्दै अध्यक्ष राजीव पहारीले विहारी नेताका अगाडि हात फैलाउने मधेसी नेताहरुको हिसाबकिताब हुने बताए । उनले भने– ‘मधेसका नेताहरुले राष्ट्रियता र स्वाधिनतामा खलल पुर्याउने काम गरेका छन् । यो क्रम नरोकिने हो भने युवा संघले आन्दोलनका नाइकेहरु हिसाब किसाब गरेर ठेगान लगाउन पछि पर्दैन् ।’

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सुरु भएको अधिवेशन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पहारीले नेपालमा हस्तक्षेप गर्ने खालका अभिव्यक्ति दिएर विहारी नेताले ठिक नगरेको बताए । उनले भने- ‘नेपालमा १० लाख विहारी पठाउने, सिंहदरबार घेर्ने लालु यादव र रघुवंश सिंहको अभिव्यक्ति आपत्तिजनक छ । यो एक छिमेकीको गलत नियत हो ।’
संविधान संशोधन मार्फत मधेसका अधिकांश माग सम्बोधन भइसकेको भन्दै अब नाकाबन्दी पनि बिस्तारै समाप्तिको दिशामा गएको बताए । पछिल्लो समय भारतीय नेताहरुको गैरराजनीतिक गतिबिधिलाई उनले एक छिमेकीको गलत नियत बताए ।
कार्यक्रममा एमाले स्थाई कमिटी सदस्य सुरेन्द्र पाण्डेले मधेसमा जागरण अभियान सञ्चालन गरेर राष्ट्रियताका लागि जोखिम उठाएकोमा युवा संघ नेतृत्वलाई धन्यवाद दिए ।















प्रतिक्रिया