१ कार्तिक २०८३, आइतबार

प्रचण्ड भन्छन्: हेटौँडा-काठमाडौं सुरुङमार्ग निर्माण द्रुत गतिमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surungहेटौँडा, ९ माघ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले हेटौँडा–काठमाडाँै जोड्ने सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिने बताउनुभएको छ ।

मकवानपुर उद्योग वाणिज्य सङ्घको ४९ औँ वार्षिक साधरणसभाको आज उद्घाटन गर्दै उहाँले राष्ट्रको पूर्वाधार विकासलाई आधुनिकीकरण गरी रोजगारीका अवसर प्रदान गर्न सो सुरुङमार्गको निर्माणमा सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।
उहाँले चाँडो निर्माण कार्य अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको पनि जानकारी दिनुभयो ।

दाहालले सार्वभौम नेपालीको आत्मसम्मानमा ठेस नपुग्ने गरी भारतसँग परिपक्व कूटनीतिक माध्यमबाट छिट्टै वीरगन्ज नाका खुलाउने प्रयास भइरहेको छ भन्नुभयो ।

दाहालले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन र स्थानीय निकायलाई सुशासनतर्फ उन्मुख गराउन अहिले राजनीतिक दलहरुको नेतृत्वमा परिपक्वताको साथै जनताप्रति जिम्मेवार हुनुपर्ने तर्फ चनाखो हुनुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले जनतालाई सामाजिक न्यायसहित आर्थिकरुपमा समृद्ध बनाउन सरकार र दलहरु एकजुट हुनुपर्छ भन्नुभयो ।

सो अवसरमा उद्योग राज्यमन्त्री मेघराज नेपालीले नाकाबन्दीले उद्योगको उत्पादनमा नोक्सान भए पनि उद्योग सञ्चालनालाई सरकारले छुट्टै विद्युत् लाईनको विस्तार गर्न उद्योग ऐनलाई संशोधन गर्नेतर्फ गृहकार्य भइरहेको बताउनुभयो ।

सांसद रामनारायण बिडारीले मकवानपुरलाई औद्योगिक शान्ति क्षेत्र घोषणा गर्नुपर्ने र हेटौँडा औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न सरकारले थप जग्गा उपलब्ध गराईदिनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारका, नेकपा (एमाले)का मकवानपुरका मुनु सिग्देल, मकवानपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष माधव रिसाल र वर्तमान अध्यक्ष राजकुमार न्यौपानेले उद्योग सञ्चालनमा आर्थिक सङ्कट आइपरेपनि बैंकले ऋण प्रदान गर्दा व्याज र किस्तामा सहुलियत प्रदान गर्नुपर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री दाहालले सांसद बिडारी, सञ्चारकर्मीहरु सुदीप सिवाकोटी, एमपी शर्मा र बालकृष्ण अधिकारीलाई सम्मान गर्नुभएको थियो । रासस