एकराज गिरी
पोखरा, असार ३२ । नेकपा एमालेको महाधिवेशनको चटारो चलिरहेका बेला एमालेकै बाहलवाला मन्त्रीलाई भने मंगलवार आफनै विवाहको चटारो थियो। केपी ओली पक्षका हस्तीका रुपमा चिनिएका कास्कीका खगराज अधिकारीले पार्टीको नयाँ नेतृत्व चयनसँगेै विवाह पनि गरेका हुन् ।
नेकपा एमालेका नेता एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री अधिकारीले पहिली श्रीमती इन्द्रकला बरालसँग सम्वन्ध विच्छेद गरेको एक वर्ष नहुँदै अर्को विवाह गरेका हुन् । अधिकारीले मंगलबार ४० वर्षीय रमा पाण्डेलाई आफ्नो जीवनसंगिनीको रुपमा ललितपुरको पुल्चोकस्थित मन्त्री निवास भित्राएका छन् । पाण्डे अविवाहित थिइन । असार १८ गते पाण्डेसँग ‘कोर्ट म्यारिज’ गरेका अधिकारीले मंगलबार विधिवत रुपमा घर भित्राएका हुन् ।
ललितपुरस्थित एक सरकारी विद्यालयमा मावि तहकी शिक्षिका रहेकी पाण्डेसँग अधिकारीले विवाह गरेका हुन । मन्त्री अधिकारीको विवाहको लमीको काम पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ट डा कालु शर्माले गरेका थिए । पाण्डे डा शर्माकी आफन्त पर्ने स्रोतले जनाएको छ । मंगलबार काठमाडौमा मन्त्री अधिकारीले आफना परिवारका सदस्य र नजिकका मान्छेहरुको उपस्थितिमा विवाह गरेका हुन् । उनले पाण्डेको सिउँदोमा सिन्दुर र हातमा औँठी लगाइदिएका थिए । विवाहमा अधिकारीकी छोरी पनि सहभागी भइन् । विवाहमा एमालेका शिर्ष नेताहरुको समेत सहभागिता थियो । निर्वतमान पार्टी अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष विद्या भण्डारी लगायतको उपस्थिति रहेको स्रोतले जानकारी दियो ।
काठमाडौमा विवाहमा सहभागी हुन अधिकारीको घर कास्कीको लेखनाथबाट आफन्त काठमाडौ गएका थिए । अधिकारीले पहिली श्रीमती इन्द्रकला बरालसँग २०७० भदौमा सम्वन्ध विच्छेद गरेका थिए । पहिली श्रीमती बरालबाट एक छोरी छन् । सम्वन्ध विच्छेदका क्रममा छोरीले बाबुसँग बस्ने इच्छा देखाएपछि उनी अधिकारीसँगै रहेकी छन् । मन्त्री अधिकारीले लेखेर हालै प्रकाशित उनको पुस्तकमा पहिलाकी श्रीमतीको अर्कै युवकसँग प्रेम सम्बन्ध भएकाले आफ्नो वैवाहिक जीवन सफल हुन नसकेको कुरा उल्लेख गरेका छन् ।














प्रतिक्रिया