१ कार्तिक २०८३, आइतबार

आयातनिर्यात प्रभावित हुँदा दुई अर्बभन्दा बढी राजस्व घाटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-currency Paisaवीरगन्ज, ८ माघ । भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र वीरगन्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट आयातनिर्यात प्रभावित भएपछि रु दुई अर्बभन्दा बढी राजस्व घाटा भएको छ ।

आयात निर्यात प्रभावित हु“दा सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आवको पहिलो पाँच महिनामा यतिधेरै राजस्व घाटा भएको हो । मधेस केन्द्रित दलको आह्वानमा विगत पा“च महिनादेखि निरन्तर जारी बन्द हडतालका कारण ढुवानी सेवा अवरुद्ध हुँदा सुक्खा बन्दरगाहको आयातनिर्यात प्रभावित भएको हो ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार, चालु आवको भदौदेखि पुस मसान्तसम्म रु दुई अर्ब २४ करोड १० लाख १६ हजार राजस्व घाटा भएको छ ।

बन्द र हडतालका कारण ढुवानी सेवा अवरुद्ध भएपछि सुक्खा बन्दरगाह भन्सार कार्यालयको भदौदेखि मङ्सिर महिनासम्मको राजस्व असुलीमा घाटा भएको देखिए पनि पुस महिनामा लक्ष्यको तुलनामा झन्डै १९ प्रतिशतले राजस्व असुली वृद्धि गरेको छ ।

पुस महिनामा रु एक अर्ब ४३ करोड १८ लाख ४३ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा सो अवधिमा कार्यालयले रु एक अर्ब ७० करोड १५ लाख १३ हजार राजस्व असुली गरेको छ । यो लक्ष्यको तुलनामा १८ दशमलव ८३ प्रतिशत बढी हो ।

मधेस केन्द्रित दलले आह्वान गरेको अनिश्चितकालीन बन्द र नाकाका कारण नेपालकै प्रमुख भन्सार नाका वीरगन्ज भन्सार कार्यालयको आयातनिर्यात ठप्प भएपछि सुक्खा बन्दरगाहतर्फ व्यापार केन्द्रित हुन थालेकाले पुस महिनाको राजस्व असुलीमा वृद्धि भएको हो ।

यस्तै चालु आवको मङ्सिर महिनामा रु एक अर्ब ४३ करोड १८ लाख ४३ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा कार्यालयले उक्त अवधिमा जम्मा रु एक अर्ब २२ करोड ७२ लाख ७१ हजारमात्र असुली गर्न सकेको थियो । यो लक्ष्यको तुलनामा १ दशमलव ४४ प्रतिशत कम हो । मङ्सिर महिनामा मात्र सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई रु आठ अर्ब १९ करोड ४१ राजस्व घाटा भएको छ ।

कात्तिक महिनामा रु एक अर्ब ४३ करोड १८ लाख ४३ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा रु एक अर्ब ११ करोड ८३ हजार तथा असोजमा रु एक अर्ब ३४ करोड २३ लाख ५२ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा रु नौ करोड ४४ लाख २५ हजार राजस्व असुली गरेको थियो ।

असोज महिनामा कार्यालयलाई सबैभन्दा बढी राजस्व घाटा भएको देखिन्छ । उक्त अवधिमा कार्यालयले लक्ष्यको तुलनामा सात प्रतिशतमात्र राजस्व असुली गरेको सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जका निमित्त प्रमुख भन्सार अधिकृत विष्णु ओलीले बताउनुभयो ।

त्यस्तै भदौमा महिनामा कार्यालयले रु एक अर्ब ५२ करोड १३ लाख ३३ हजार राजस्व असुली गर्ने लक्ष्य तोकिएकामा रु ७९ करोड ५० लाख ८० हजार मात्र असुली गर्न सकेको थियो ।

भारतीय रेलमार्ग सञ्जालसँग जोडिएको नेपालको एकमात्र यो सुक्खा बन्दरगाहमा भारतबाट मालबाहक रेलमार्फत विभिन्न सामान यहा“ आयात निर्यात हुने गरेका छन् । बन्दका समयमा पनि स्थानीय प्रशासनले सुक्खा बन्दरगाहबाट उच्च सुरक्षाका साथ सामान निकासी गर्ने व्यवस्था मिलाएका कारण पछिल्लो समयमा यहाँबाट हुने आयात निर्यात वृद्धि भएको छ । रासस