१ कार्तिक २०८३, आइतबार

बागलुङमा सुन्तला उत्पादन घट्यो, साढे ३ करोडको सुन्तला निर्यात

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Orange

– रबिना बोहरा
बागलुङ, ५ माघ । बागलुङ जिल्लामा यस बर्ष सुन्तला उत्पादनमा १० प्रतिशतले कमि आएको छ । विगतको तुलनामा यस बर्ष विभिन्न खालको रोगहरु देखा परेकाले एवं मौसम अनुकुल नहुँदा सुन्तला उत्पादन घटेको हो ।

जिल्ला कृषि विकास कार्यालय बागलुङका अनुसार हाल सम्म करिब ३ करोड ५० लाख रुपैँयाको सुन्तला निर्यात गरिएको छ भने १ करोड ५० लाख बराबरको सुन्तला निर्यात हुने क्रममा रहेको बताइएको छ । बागलुङमा ५ सय हेक्टरमा सुन्तला खेती गर्दा २५ सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत बर्षको भन्दा कम उत्पादन भएता पनि कृषकहरुले यस बर्ष सुन्तलाको राम्रो मुल्य पाएका छन् । कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत विनोद हमालका अनुसार बागलुङको सुन्तलालाई पहिचान सहितको उपयुक्त मुल्य दिन बजारमा पठाइरहेको बताउदैँ ग्रेडिङ एवं प्याकिङ गर्न सिकाएर कृषकहरुलाई काटुन वितरण गरेको बताउनुभयो । जिल्लाका कृषकहरुलाई यस बर्ष १ लाख सुन्तलाका विरुवा वितरण गर्ने कार्यक्रम रहेको समेत उहाले बताउनुभयो ।

यता सुन्तलामा औसा किराको प्रकोप बढेकाले उत्पादन घटेको कृषकहरुको गुनासो छ । कृषकहरुलाई सुन्तला भण्डारणका लागी कोल्ड स्टोरको समस्या हुँदा पनि चैत महिनादेखि सुन्तला आयात गर्नुपर्ने बाध्यता रहेको छ । लामो समयसम्म सुन्तला भण्डार गर्न नसक्दा सुन्तलामा आत्मनिर्भर बनेको जिल्लामा आयात गर्नुपर्ने समस्या रहेको व्यापारीहरुले बताउछन् । भारतबाट आयात हुने सुन्तलालाई प्रतिस्थापन गर्नका लागी कृषकहरुलाई सुन्तला भण्डारण केन्द्र आवश्यक रहेको छ ।

रोगको व्यवस्थापनका लागी कृषि कार्यालयले कृषकहरुको बगैचामा गएर स्थलगत तालिम दिने जानकारी दिइएको छ । ठुला ठुला भण्डारण गृह निर्माण गर्न कृषि कार्यालयको क्षमताले नसक्ने भएता पनि सेलार स्टोरहरु निर्माण गर्ने कार्यक्रम रहेको कार्यालयले बताएको छ । कृषि विकास मन्त्रालयले कोल्ड स्टोरका लागी निवेदनहरु आव्हान गरेर कृषकहरुलाई ५० प्रतिशत अनुदानमा स्टोर निर्माण गर्ने काम गरेको बरिष्ठ कृषि विकास अधिकृत हमालले जानकारी दिनुभयो ।