१३ कार्तिक २०८३, शुक्रबार

फायाको न्यानो पाएपछि बुढीआमाले भनिन्- ‘पराइले पनि कम्बल दिँदा रहेछन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Faya-Dhn (3)

धनगढी, २८ पुस । कैलालीको चौमाला गाविस वडा–१, खुरखुरियाकी ८२ वर्षीया लवरीदेवी चौधरीलाई आफ्नो जीवनकालमा परायाले केही दिएको याद छैन । तर मंगलबार पराइले नया कम्बल दिदा निक्कै खुसी देखिइन् ।

‘मेरा श्रीमान वितेको धेरै भइसक्यो, छोरानातीले लगाउने कपडा किनिदिन्थे, तर ओढ्नेओछ्याउने कपडा धेरै पुराना छन्’ लवरीदेवीले भनिन्- ‘पुराना कपडाले जाडो नछेक्ने भएकाले प्रायः आगो तापेरै आधा रात कटाउने गर्थे, यो कम्बलले केही सहारा देला ।’

उनका छोरानातीले पनि धेरै वर्षसम्म नयां सिरक, कम्बल किनिदिने चासो नदेखाएको उनले बताइन् । उनी धेरै वर्षपछि जेठी नातीनी बुहारीसंग चौमाला बजार आउन पाएकोमा पनि निकै खुसी देखिन्थिन् ।

Faya-Dhn (2)

युवा सचेतना तथा जागरण मञ्च (फाया) नेपालले मंगलवार कारगिल फाउन्डेशनको आर्थिक सहयोग र हेल्पएज इन्टरनेशनलको साझेदारीमा सञ्चालित विपद् उत्पादनशीलतामा ज्येष्ठ नागरिकको सहभागिता परियोजनामार्फत चौमालाका ३० जना ज्येष्ठ नागरिकलाई एक/एक थान कम्बल वितरण गरेको थियो । कम्बल पाएपछि जेष्ठ नागरिकहरूले आयोजकलाई आशिष पनि दिएका थिए ।

७० वर्षीया बिष्णा देवीले कम्बल पाएपछि आशिष दिइन्- तिमीहरू पनि छोराजस्ता त हौ, कम्बल दियौं, धन्य होस् । उनका श्रीमानको १६ वर्षअघि देहावसान भएको थियो । तीन छोरामध्ये दुई जना भारतमा रोजगारी गर्छन् भने एक छोराले गाउंमा डकर्मीको काम गरिरहेका छन् । ‘छोराहरूले कामकै व्यस्तताले पनि सोधपुछ गर्न भ्याउदैनन्, पुराना गुडरा (सिरक–डिस्ना) ले नै काम चलाएकी थिए’ उनले भनिन्– श्रीमान छैनन, छोराहरू काममै व्यस्त हुन्छन्, तिमीहरूले कम्बल दियौ, तिमीहरूको धन्य होस् ।

Faya-Dhn (1)

सोही अवसरमा फाया नेपालका सचिव लोकराज भट्टले गाविस सचिव तथा स्थानीय विपत् जोखिम व्यवस्थापन समिति अध्यक्ष खेमराज भट्टलाई प्रकोप पूर्व तयारी तथा खोजउद्दार सामग्री हस्तान्तरण गरे । हस्तान्तरण गरेका सामग्रीमा प्रकोप पूर्व तयारी र खोज उद्दारमा प्रयोग हुने लाइफ ज्याकेट, त्रिपाल, म्याट्रेस, बेल्चा लगायतका २२ प्रकारका सामग्री रहेको अधिकृत सुरज परियारले बताए ।

वृद्धावृद्धालाई गाविस सचिव भट्ट, चौमाला गाविसका पूर्व अध्यक्ष पदमसिंह सिंगाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशबिक्रम शाह, नेकपा माओवादीका रुद्र कडेल, जनमोर्चा नेपालका खगेन्द्र वुढा, जेष्ठ नागरिक मञ्चका टेकवहादुर बमले कम्मल वितरण गरेका थिए ।