
धनगढी, २८ पुस । माघे संक्रान्तिको पूर्वसन्ध्यामा ‘प्रकृति, संस्कृति र पानी’ नाराका साथ कैलालीको पर्यटकीय नगर टीकापुरमा मंगलबार प्रथम राष्ट्रिय ढिक्री महोत्सव–२०७२ भव्य रुपमा आयोजना भएको छ ।
टीकापुर पर्यटन समितिको आयोजना तथा टीकापुर पार्क होमस्टे र कर्णाली नदी डल्फिन संरक्षण केन्द्रको सहकार्यमा भएको महोत्सवको टीकापुर नगरपालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद आचार्यले उद्घाटन गरे । उद्घाटन समारोह पर्यटन समिति अध्यक्ष थर्कबहादुर शाहको अध्यक्षतामा भएको थियो । सो अवसरमा कार्यकारी अधिकृत आचार्यले ढिक्री महोत्सव जस्ता विशिष्ट कार्यक्रमहरूले पर्यटन विकासमा उल्लेख्य टेवा पुग्ने विश्वास गरे ।
महोत्सवमा कैलाली, कञ्चनपुर, बाके, बर्दिया र दाङ जिल्लाका ढिक्रीका ५० बढी परिकार राखिएका थिए । चामलको पिठोबाट बनाइने डिक्री थारु समुदायको विशेष परिकार हो । महोत्सवमा थारु समुदायका हस्तकला पनि राखिएका थिए ।
त्यस्तै, महोत्सवमा स्थानीय मौलिक सांस्कृतिक झाकी तथा कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।

महोत्सवमा ढिक्री खान तथा महोत्सव अवलोकन गर्न मानिसको ठूलो भीड लागेको थियो । महोत्सवमा काजु, गाजर, फापर, कोदा, घोयापीजा, चना, नरिवल, रंगीन, हात्ती, सादा लगायतका ढिक्रीका परिकार राखिएको थियो । महोत्सव अवलोकन गर्न आउनेहरूलाई ढिक्रीका परिकार पु¥याउनै नसकिएको स्टल आयोजक माया चौधरीले बताइन् ।
आयोजक समितिका अध्यक्ष शाहले धरासायी भइरहेको टीकापुरको पर्यटनको संरक्षण तथा प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
थारु समुदायको विशेष परिकारका रूपमा रहेको ढिक्रीलाई महोत्सवका रूपमा प्रस्तुत गरिएको पहिलो पटक हो । आयोजक समिति अध्यक्ष शाहले महोत्सवले पा“च जिल्लाका ढिक्रीको स्वाद एउटा थलोमा लिन पाउने अवसर दिएको बताए ।
उनले ढिक्री महोत्सव आशातित रूपमा सफल भएको बताए । ‘ढिक्री महोत्सव बम्पर सफल भयो’ अध्यक्ष शाहले बिहान ११ बजेदेखि सांझ पांच बजेसम्म महोत्सव गर्ने तय भए पनि अवलोकन गर्ने तथा ढिक्री खानेहरूको ठूलो भीड लागेकोले दिउंसो करिब तीन बजे नै महोत्सव समापन गरिएको बताए ।
‘करिब साढे तीन हजार जनाले महोत्सव अवलोकन गरे, ढिक्री खाए’ उनले सबै समुदायका मानिसलाई ढिक्रीको स्वादबारे जानकारी गराउने उद्देश्यले महोत्सवमा तीनदेखि पाच रुपैया प्रतिगोटाका दरले ढिक्री बिक्री गरिएको बताए । महोत्सवमा करिब ६० हजार रुपैयाको ढिक्री बिक्री भएको थियो ।













प्रतिक्रिया