१३ कार्तिक २०८३, शुक्रबार

बालक अपहरण गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police

गौशाला, २८ पुस । महोत्तरीको भटौलिया गाविस–२ बस्ने रवीन्द्र महासेठका आठ वर्षीय छोरा जेनिस भन्ने चिरञ्जीवी महासेठलाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भटौलिया–३ बस्ने लक्ष्मी साहका छोरा १९ वर्षीय अनिसकुमार साह, वडा नं २ बस्ने उमेश साहका छोरा २१ वर्षीय सुधीरकुमार साह र वडा नं १ बस्ने तसलिम अन्सारीका छोरा १८ वर्षीय साविर अन्सारी रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले आज जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ ।

पक्राउ परेका तीनै जनाले शनिबार राति करिब ७ बजेको समयमा बालक महासेठलाई अपरहण गरी छिमेकी गाविस एकडारा–७ स्थित रुपनारायण साहको गहुँ खेतमा लगी उनको नाक, मुख थिची कर्तव्य गरी मारेर गाडेको उनीहरुले स्वीकार गरेका छन् । उनीहरुले सो काम पैसाका लागि गरेको पनि स्वीकारेका छन् । प्रहरीले बालक महासेठको शव गएराति १२ बजे सो गहुँ खेतबाट फेला पारेको थियो ।

प्रहरीले बालक अपहरण गरी हत्या गरेको आरोपमा तीनै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

यस घटनामा अरु पनि संलग्न रहेको हुनसक्ने आशङ्कामा प्रहरीले थप पाँच जनालाई पक्राउ गरे पनि उनीहरु दोषी नदेखिएको भन्दै उनीहरुलाई छाडेका छन् भने अरुलाई पक्राउ गर्न सकिने प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । रासस