
काठमाडौँ, २७ पुस । राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनका १६ बुँदे मागका सम्बन्धमा आज सिंहदरबारमा सरकारी वार्ता टोली र गठबन्धनबीच पहिलो चरणको वार्ता भएको छ ।
गठबन्धनले राखेका मागका सम्बन्धमा सरकारी वार्ता टोलीका संयोजक रहनुभएका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले सरकार गम्भीर रहेको भन्दै सबै समस्या वार्ताबाटै समाधान गरिने बताउनुभएको थियो ।
उपप्रधानमन्त्री थापाले गठबन्धनका मागलाई छिट्टै अर्काे वार्तामार्फत विस्तृत छलफल गरी समाधान गरिने बताउनुभएको वार्तामा सहभागी उपप्रधानमन्त्री थापाका प्रेस सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
गठबन्धनले पहिचानका आधारमा सीमाङ्कन गर्नुपर्ने, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशीकरण, मौलिक हकमा मुस्लिमको हकलाई पनि समावेश गरिनुपर्नेलगायतका माग राखेको छ ।
गठबन्धनले तत्कालका लागि भने सरकारसँग मदरसा शिक्षालाई व्यवस्थित गर्नुपर्ने, हज ऐन जारी गर्नुपर्ने, मस्जिदले भोगचलन गरेका जग्गा जमिनलाई व्यवस्थित गरिनुपर्ने माग राखेको श्रेष्ठले बताउनुभयो ।
बैठकमा सरकारी टोलीका तर्फबाट उपप्रधानमन्त्री थापा र सामान्य प्रशासन मन्त्री रेखा शर्मा रहनुभएको थियो भने गठबन्धनका संयोजक समीम अन्सारीको नेतृत्वमा विभिन्न पार्टीका ११ जना मुस्लिम नेता सहभागी हुनुहुन्थ्यो । रासस












प्रतिक्रिया