पोखरा, २७ पुस । प्रेस चौतारी कास्कीद्वारा सञ्चालित ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार, २०७१’ बाट पत्रकार दुर्गा भण्डारीलाई सम्मान गरिने भएको छ ।
प्रेस स्वतन्त्रता, लोकतान्त्रिक आन्दोलन र प्रेस चौतारीको संस्थागत विकासमा पु¥याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँलाई सम्मान गरिन लागेको हो । प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु ११ हजार १११, दोसल्ला र सम्मानपत्र रहेको छ ।
विसं २०५३ देखि जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएका भण्डारी हाल पोखराबाट प्रकाशित ‘कास्की सन्देश साप्ताहिक’का सम्पादक हुनुहुन्छ । पुरस्कार प्रेस चौतारी नेपालको स्थापना दिवस माघ २२ गते प्रदान गरिने शाखाका अध्यक्ष माधव बरालले जानकारी दिनुभयो ।
उक्त पुरस्कारबाट यसअघि पुण्य पौडेल, माधव शर्मा, नवराज सुवेदी, रुद्रबहादुर थापा, हरि बाँस्तोला, खेम सारु सम्मानित भइसक्नुभएको छ । रासस












प्रतिक्रिया