काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पृथ्वीनारायण शाहलाई कसैले भुल्न नहुने बताउनुभएको छ । पृथ्वी नारायण शाहकै कारण नेपाल एकीकरण भएको स्मरण गदै डा.कोइरालाले इतिहाँसलाई कसैले कहिल्यै भुल्न नहुने बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै कांग्रेस नेता डा.कोइरालाले भन्नुभयो, ‘पृथ्वी नारायण शाहको जन्मदिनका दिन राष्ट्रिय एकता दिवस मनाउन र सार्वजनिक विदा दिनुपर्छ भनेर गिरिजाप्रसाद कोइरालादेखि माधवकुमार नेपालसम्मलाई भनेको हुँ । तर उहाँहरूले खासै ध्यान दिनुभएन ।’
नेता डा. कोइरालाले मुलुकलाई एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानलाई भुले त्यसले कसैको भलो नहुने उल्लेख गर्नुभयो ।
‘पृथ्वीनारायण शाहले देश एकीकरण गरेका हुन् । उनलाई हामीले भूल्नु हुँदैन’, डा.कोइरालाले भने, ‘पुस २७ गते सार्वजनिक विदा दिनुपर्छ । राष्ट्रिय एकता दिवस मनाउनुपर्छ ।’
पूर्वराजा यो मुलुकको नागरिक भइसकेको भन्दै कांग्रेस नेता डा.कोइरालाले भन्नुभयो, ‘उहाँले बोल्न पाउनु हुन्छ । प्रजातन्त्रमा सबैलाई बोल्ने अधिकार छ ।’
कांग्रेसको १३औँ महाधिवेशनले पार्टीभित्रको भागबण्डाको राजनीति अन्त्य गर्ने उहाँले दाबी गर्नुभयो । ‘पार्टीभित्रको भागबण्डाको राजनीतिबाट कार्यकर्ताहरू अत्यन्तै चिन्तित छन्’, उहाँले भन्नुभयो, ‘तीन शीर्ष नेताहरूले समूह बनाउनु हुँदैन । जो जेमा उठेपनि, जितेपनि समूह बनाउँदा पार्टीलाई घाटा हुन्छ ।’
कांग्रेस नेता डा. कोइराला महाधिवेशनको तयारी स्वरुप एकसाता यता सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको भ्रमणमा हुनुहुन्छ । उहाँले कार्यकर्ताहरूलाई यस पटक भागबण्डाको राजनीतिलाई अन्त्य गर्न आग्रह गर्दै आउनु भएको छ ।












प्रतिक्रिया