
– नरेश केसी
भैरहवा, २६ पुस । अन्तर्राष्ट्रिय महत्वको लुम्बिनीको विषयमा नेपाल सरकार अत्यन्तै गम्भिर भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले जनाएका छन् ।
सिद्धार्थ होटल एसोसिएसन अफ नेपाल रुपन्देहीले भैरहवामा आयोजना गरेको लुम्बिनीको विकासमा स्थानीयको भूमीका विषयक् अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले लुम्बिनीको योजनाबद्ध विकासकोलागी लुम्बिनीसंग सरोकारित सबै कार्यलय लुम्बिनीमै सारिने पनि जनाए । उनले भने “विकास कोषका सबै कार्यलय अबदेखी लुम्बिनी मै हुनेछन् । काठमाण्डौंमा कुनैपनि कार्यलय हुनेछैन । मन्त्रालयमा सम्पर्क कार्यलयको रुपमा एउटा कोठा मात्र छुट्टाइनेछ जसले गर्दा कोषको बैठक बस्ने एवं पदाधिकारीहरु पनि लुम्बिनीमै केन्द्रित हुन सहज हुनेछ ।”
मन्त्री पोखरेलले लुम्बिनीमा एक सय जना पर्यटक गाइड तयार गरेर स्वदेशी तथा विदेशी पर्यटकलाई व्यवसायीक पर्यटक गाइड मार्फत लुम्बिनीको सम्बन्धमा प्रकाश पारिने तयारी गरिरहेको पनि जनाए । उनले भने “अब केही महिना भित्रै एक सय जना व्यवसायीक पर्यटक गाइड तयार पार्नेछौं जसले मात्रै लुम्बिनी आउने पाहुनालाई गाइड गर्न पाउनेछन् ।” पर्यटक गाइड विदेश वा भारतबाट आउदां गलत सूचना सम्प्रेषण गर्ने गरेको तथा लुम्बिनीको विषयमा आवश्यक जानकारी दिन समेत योग्य नरहेको वर्तमान अवस्थामा यसो गर्न थालिएको मन्त्री पोखरेलको भनाई थियो ।

मन्त्री पोखरेलले लुम्बिनी घुम्न आउने पर्यटकलाई कम्तिमा ३ दिन लुम्बिनी बस्ने वातवरण सृजना गर्ने कार्यमा सरकार लागीरहेको पनि जनाए । उनले अगाडी भने “विश्वका १ अरब बुद्धिस्टहरु मध्ये १ प्रतिशत पनि लुम्बिनी आएमा यहांका होटलहरुले धान्ने अवस्था छैन । यसैले स्तरीय होटलहरु निर्माण र सन्चालनको आवश्यक छ । लुम्बिनीमा पर्यटन मैत्री होटल सधैंभरी जरुरी रहेकोले सबै होटल व्यवसायी त्यस तर्फ केन्द्रित हुन आग्रह समेत गर्दछु । ”
कार्यक्रममा सांसद आदित्य नारायण कसौधनले मुलुकलाई आर्थिक समृद्धिमा लैजानकोलागी लुम्बिनीको विकास जरुरी रहेता पनि अपेक्षाकृत विकास नभएको भन्दै मन्त्रीको ध्यानाकषर्ण गराएका थिए । रुपन्देही क्षेत्र नम्बर २ बाट व्यवस्थापीका संसदमा प्रतिनिधीत्व गर्ने सांसद कसौधनले बेलहियादेखी लुम्बिनीसम्म बाइपास सडकको व्यवस्था गर्नुपर्ने, पर्यटनलाई विशेष महत्वका साथ अगाडी बढाइनुपर्ने धारण राखेका थिए ।
उक्त अवसरमा सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष सिपी श्रेष्ठले सरकारले लुम्बिनीको योजनाबद्ध विकासमा विशेष पहल गर्नुपर्ने आग्रह गरेका थिए । अध्यक्ष श्रेष्ठले लुम्बिनी क्षेत्रमा पर्यटन मैत्री होटल तथा क्यासीनो र पर्यटनमैत्री वातवरणकोलागी स्थानीय निजी क्षेत्र क्रियासील भएता पनि विगतमा सरकारी तवरबाट असहयोग रहेको तर मन्त्री पोखरेलको सकारात्मक सोचका कारण अब सहयोग पाउने आशा रहेको बताए । लुम्बिनीका प्रचारक चेतन पन्तले प्रोफेसर क्वाकको लुम्बिनी विश्व शान्तिनग्राम भन्ने वित्तचित्र प्रस्तुत गरेका थिए । सो अवसरमा होटल एसोसिएसनका महासचिव रविन्द्र शर्माले लुम्बिनीको विकासले मुलुकमा समृद्धिको ढोका खोल्ने हुदां सरकार त्यस तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।
मन्त्री पोखरेलले लुम्बिनीको स्वामित्व स्थानीयले लिनुपर्ने जनाउदैं बुद्धिजम संगै नेपालमा बुद्धको जन्म भएको तर्क गरेका थिए । अन्तरक्रियामा सहभागीहरुलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बुद्ध जन्म स्थल लुम्बिनीका नागरिकहरुले लुम्बिनीको प्रचारप्रसार राम्रोसंग गरेमा मात्रै यो क्षेत्र स्वतः समृद्ध हुने तर्क गरेका थिए ।
मन्त्री पोखरेलले आइतबार विहान नै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आयोेजना गरेको स्वागत कार्यक्रममा समेत सहभागी भएका थिए । उक्त अवसरमा मन्त्री पोखरेलले सहभागीलाई सम्बोधन गर्दै भने “बुद्ध जन्मेको लुम्बिनीको विकासका लागि यहाँका स्थानीयहरुले पहल गर्नुपर्दछ ।” अधिकार मात्रै खोज्नु राम्रो नभएको भन्दै मन्त्रीले थपे “कर्तव्य र दायित्व पनि लुम्बिनीवासीले सम्झिनुप¥यो ।”
लुम्बिनी र बुद्ध हाम्रो हो भन्ने कुरा हामी सबैले सोच्नुपर्छ । राजनीतिक तहमा पनि यसको विकास भएमा लुम्बिनी गुरुयोजना छिट्टै पुरा हुने उनले अपेक्षा गरे ।
मन्त्री पोखरेलले आफू राज्यको विकास लागि केही काम गर्नको लागि मन्त्री भएको भन्दै लुम्बिनीको विकासमा सदैव लागिरहने समेत बताए ।
सो अवसरमा लुम्बिनीमा सौर्य उर्जाबाट २४ सै घण्टा विद्युत उपलब्ध गराउने सरकारले तयारी गरेको मन्त्री पोखरेलको भनाई थियो । कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जिल्लाको अवस्था र लुम्बिनीको सुरक्षा अवस्थाको बारेमा प्रकाश पारेका थिए । लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री पाखरेल संगै मन्त्रालयका सचिव दिनेश थपलिया, कोषका पदाधिकारीहरु समेत सहभागी रहेका थिए ।
कोषको अनियमितताबारे छानविन
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनंद पोखरेलले लुम्बिनी विकास कोषमा भ्रष्टाचार भएको भन्ने समाचारले आफुलाई मर्माहत तुल्याएको जनाएका छन् ।
आइतबार जिल्ला प्रशासन कार्यलय रुपन्देही र सिद्धार्थ होटल एशोसियसन नेपाल रुपन्देहीले आयोजना गरेको कार्यक्रम पश्चात पत्रकारहरुसंग बोल्दै मन्त्री पोखरेलले लुम्बिनी जस्तो पवित्र थलोमा भ्रष्टचार र अनियमितता हुनु आफैमा लज्जासपद भएको जनाउदैं त्यस्तो कार्यमा संलग्न र दोषीलाई कारबाहीको दायरामा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री पोखरेलले लुम्बिनी विकास कोषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानी त्यहांका कागज पत्र नियन्त्रणमा लिएको भन्ने समाचार सुनेको जनाउदैं त्यसले आफुलाई गम्भिर बनाएको समेत जनाए । मन्त्री पोखरेलले कोषका कर्मचारी आन्दोलनमा रहेकोले उनीहरुसंग आन्दोलन छाडेपछि मात्रै वार्ता गर्ने प्रतिबद्धता गरे अनुसार आफु लुम्बिनी आएको पनि जानकारी दिए । मन्त्री पोखरेलले विकास कोषका पदाधिकारीबीच बोलचाल नै छैन रे नी यस्तो अवस्थामा कसरी लुम्बिनीको विकास हुन्छ भनी पत्रकारले सोधेको प्रश्नमा त्यस विषयमा गहन ढंगले बुझी आवश्यक निर्देशन दिने पनि जनाए ।
लुम्बिनी विकास कोषमा भ्रष्टाचार भएको आशंकामा गत शुक्रवार अख्तियारको सम्पर्क कार्यालय बुटवलले कोषमा छापा मारेर ५ बोरा कागजपत्र अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
पत्रिका लिएर सदस्य सचिव भागेपछि….
सिद्धार्थ होटल एशोसियसन नेपाल रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा आएका लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तमाङ्घ कार्यक्रम सुरु हुनुपुर्व नै कार्यक्रम स्थलबाट भागेपछि कार्यक्रममा गाईगुई सुरु भएको थियो । लुम्बिनी विकासमा पदाधिकारी बाधक भन्ने विषयमा ब्यानर सहितको भैरहवाको लुम्बिनीखबर पत्रिकामा प्रकाशित समाचार देखेपछि सदस्य सचिव तमाङ्घ समाचार देखेपछि त्यहाँ रहेको करिब १० प्रति पत्रिकानै बोकेर कार्यक्रम स्थलबाट भागेको कार्यक्रममा सहभागीले जनाएका छन् । समाचारमा विकास कोषको विकासमा पदाधिकारी र त्यसमा पनि सदस्यसचिव तामांग बाधक भएको समाचार प्रकाशित छ । कार्यक्रममा आयोजकले दुई पटक सम्म आशनग्रहणका लागि सदस्य सचिव तमाङ्घको नाम उद्धघोष गर्दा समेत तमाङ्घ नआएपछि पर्यटक मन्त्री समेत चकित परेका थिए ।
सन् २०१८ मा भियतनामी यात्रु सिधैं भैरहवामा
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनंद पोखरेलले सन् २०१८ को शुरुवात सम्म भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सन्चालनमा आउने विश्वास व्यक्त गरेका छन् ।
मन्त्रि पोखरेलले सन् २०१८ सम्म सिधै भियतनामी यात्रु लुम्बिनी आउने समेत जनाएका छन् । मन्त्री पोखरेलले भने “भियतनामबाट सिधै बुद्धिस्ट बोकेर जहाज भैरहवा आउने पक्का भएको छ । भियतनामसंग सम्झौता भइसक्यो अब अन्य देशसंग पनि पहल भइरहेको छ । ” मन्त्री पोखरेलले गौतमबुद्ध विमानस्थलको निर्माणमा कुनैपनि अवरोध नआउने जनाउदैं यो विमानस्थल समयअवधीमा तयार गरेमा निजगढ विमानस्थलको जिम्मा पनि पुरस्कार स्वरुप यसैलाई दिने पनि जनाए ।















प्रतिक्रिया