
काठमाडौँ, २६ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले देश विकासका निम्ति युवामा सकारात्मक सोंच हुनुपर्नेमा जोड दिनुभएको छ ।
युवा तथा खेलकुद मन्त्रालय र बिल्डिङ राइट ब्याकको सहयोगमा नेपाल स्वतन्त्र युवा सङ्घले आज यहाँ आयोजना गरेको ‘नेपालको पुनःनिर्माणमा युवाको भूमिका’ विषयक कार्यक्रममा नेता नेपालले भूकम्पपछिको मुलुकको निर्माण र देश विकासका लागि युवामा सकारात्मक र व्यावहारिक ज्ञानको आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो– “अहिले अधिकार खोज्ने धेरै छन् तर कर्तव्य चाहिँ पालना गर्दैनन् । आफूले मुलुकका लागि के गरेँ भन्ने सोच्नुपर्छ, अधिकारमात्र खोजेर हुन्न ।” नेता नेपालले भन्नुभयो– “विकसित मुलुकको अध्ययन गर्दा देश विकासका लागि सडक निर्माण, विद्युत्, सञ्चारलगायतका विकासमा विशेष जोड दिनुपर्छ ।”
बिल्डिङ राइट ब्याकका अध्यक्ष होमराज आचार्यले नेपालमा हजारौँ वर्षअघि निर्मित सांस्कृतिक सम्पदा रहेकाले यसलाई समेत जोगाउने तरिकाले पुनःसंरचना गर्नुपर्नेमा जोड दिँदै अब बन्ने नयाँ संरचना वातावरणीय उत्तरदायित्वसहितको हुनुपर्ने बताउनुभयो । रासस












प्रतिक्रिया