महोत्तरी, २५ पुस । मधेस सम्वाद तथा जागरण अभियान लिएर तराईमा उत्रिएको युवा संघ नेपालको टोली महोत्तरी पुगेको छ ।
शनिबार महोत्तरीको बर्दिवासमा कार्यकर्ता भेलाको आयोजना गरी युवा संघले अभियानबारे प्रशिक्षण दिएको छ । २ सय ५० भन्दा बढी युवाहरुलाई युवा संघको टोलीले संविधान र मधेस आन्दोलनका भ्रमबारे प्रशिक्षण दिएको युवा संघ नेपाल केन्द्रीय विभाग सदस्य सञ्जीव रोकाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त भेला जनकपुर अञ्चलस्तरीय हो । भेलामा जनकपुर अञ्चल भरीका युवा नेता तथा कार्यकर्ताको सहभागिता थियो । युवा संघको यो अभियानबाट समग्र रुपमा मधेसका जनतामा आन्दोलनको प्रतिरोध क्षमता अभिवृद्धि गरेको भेलाले निष्कर्ष समेत निकालेको छ ।
भेलालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले मधेसका गाउँ गाउँमा पुगेर अभियानलाई सशक्त बनाएर लैजाने बताउनुभयो । भेलामा उपस्थित कार्यकर्तालाई मधेसका जनतामा छरिएको भ्रम चिर्न फिल्डमा खटिन निर्देशन समेत दिनुभयो । ‘हाम्रो उद्देश्य भनेको संविधानबारे छरिएको गलत भ्रमलाई चिर्ने हो,’ उहाँले भन्नुभयो– ‘मधेसको उत्थान र विकासका लागि युवा संघ क्रियाशील छ । संघले कुनै पनि दलको प्रतिवाद होइन, राष्ट्रिय एकता र सामाजिक सदभाव फैलाउने काम गर्छ । मधेसी जनताको साथमा युवा संघ छ ।’
भेलालाई सम्बोधन गर्दै युवा संघका उपाध्यक्ष रमेश पौडेलले मिथिलाको सभ्यता बचाउन कार्ययोजना तयार गरी लागु गरिने जानकारी बताउनुभयो । उहाँले मधेसमा रहेका दलाल तथा जमिनदारलाई ठेगान लगाउने चेतावनी समेत दिनुभयो । ‘मधेसका सामन्ती जमिनदारहरुलाई मधेसका युवाहरुले नेतृत्व गरेर ठेगान लगाउनुपर्छ,’ उहाँले भन्नुभयो ।

भेलामा सचिव माधव बास्तोला, स्थायी समिति सदस्य प्रभातविक्रम कटुवाल, सचिवालय सदस्य सञ्जीव कुमार झा र मधेसका युवा संघका युवा नेता जोगी यादवले आफ्नो धारणा राख्नुभएको थियो ।
जनकपुर अञ्चल सम्भु मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिथिलाञ्चल मिडिया प्रालिका अध्यक्ष एवं पत्रकार महासंघका केन्द्रीय सदस्य अजय अनुरागीले संविधानका बारेमा मधेसका सञ्चारमाध्यमले गलत प्रचार गरिरहेको र भ्रमाक समाचार प्रकाशित गरेको भन्दै कारवाही गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
यसैगरी मधेस सम्वाद तथा जागरण अभियान अन्तर्गत युवा संघको टोली सर्लाहीको हेमपुर गाविस पनि पुगेको छ । सामाजिक सदभावमा नयाँ एकताका लागि संघले आव्हान गरेको छ ।
जहाँ अज्ञात समूहबाट हत्या गरिएका एमाले नेता राम नरेशराय यादवको श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा एमाले महासचिव ईश्वर पोखरेलले शोकलाई शक्तिमा बदल्न यादवको परिवारलाई आग्रह गर्नुभएको थियो ।













प्रतिक्रिया