१३ कार्तिक २०८३, शुक्रबार

काठमाडौँका सडकको लम्बाइभन्दा सवारी साधनको कुल लम्बाइ धेरै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dig-jaya-chandललितपुर, २५ पुस । काठमाडौँमा सडकको लम्बाइ ४८ लाख फि र यहाँ सञ्चालनमा आएका सवारीका साधनको लम्बाइ जोड्दा कुल ५२ लाख फि भएको पाइएको छ ।

स्थानीय नागरिक सरोकार मञ्च नेपाल, महानगरीय ट्राफिक प्रहरी प्रभाग, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सङ्घसंस्था आदि संस्थाले आज यहाँ आयोजना गरेको ‘ट्राफिक जनचेतना तथा वातावरणसम्बन्धी अन्र्तक्रिया कार्यक्रम’मा प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दले २०५१ सालमा काठमाडौँको जनसङ्ख्या ११ लाख र सवारी सङ्ख्या ७८ हजार रहेकामा हाल जनसङ्ख्या २५ लाख पुग्दा सवारी साधन पनि आठ लाख २८ हजार पुगेको जानकारी दिँदै २०५१ सालमा एक हजार ३०० किमी बाटो भएकामा हाल एक हजार ५९६ किमी पुगी करिब ३०० किमी मात्र बढेको बताउनुुभयो ।

शासनमा बस्ने व्यक्तिको मानसिकताले सडकमा प्रभाव पारिरहेकाले अब ट्राफिक समस्या समाधान गर्न यहाँका बासिन्दाका व्यवहारमा परिवर्तन गर्नु आवश्यक भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख चन्दले बताउनुभयो ।

प्रहरी नायब महानिरीक्षक चन्दले प्रभागमा एक हजार २०० ट्राफिक रहेकामा उनीहरूले प्रतिदिन एक हजार ८०० व्यक्तिलाई ट्राफिकसम्बन्धी कारबाही गरिरहेको जानकारी दिँदै वर्षमा छ लाख कारबाही हुने र सामान्यतया भएका तीन गल्तीमा एक गल्तीलाई मात्र कारबाही गर्दा पनि वर्षमा १८ लाख ट्राफिकसम्बन्धी गल्ती हुने गरेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।

उहाँले ट्राफिक प्रहरीका आफ्नै कहानी भएकाले उनीहरूको १०० कहानी सङ्कलन गरी पुस्तक नै तयार गरिएको जानकारी दिनुभयो ।

उहाँले प्रदूषणका कारण काठमाडौँका प्रत्येक बासिन्दाको फोक्सोमा कालो दाग हुने गरेको आफूलाई चिकित्सकले सप्रमाण देखाएको र यस्तो दाग मेटाउन स्वच्छ वातावरणमा १० वर्ष बस्नुपर्ने सुझाव दिएको सम्झना गर्दै यहाँका बासिन्दाले प्रदूषण हटाउन आफ्नो दायित्व बुझ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वातावरणविद् सलिल देवकोटाले ट्राफिक प्रहरीले दिनमा १० देखि १२ घन्टा सडकमै बिताउनुपर्ने भएकाले उनीहरू प्रदूषणबाट सबैभन्दा बढी प्रभावित हुने गरेको बताउनुभयो । उहाँले वातावरण र दिगो विकासका तीन कोणका रूपमा वातावरण, अर्थतन्त्र तथा समाज रहेको बताउँदै बिज्याइँसम्बन्धी कानुन लागू भएको मुलुकमा ट्राफिक समस्या पनि कम रहेको बताउनुभयो ।

प्रा डा विश्वम्भर प्याकु¥यालले ट्राफिक दुर्घटनाका कारण प्रतिदिन पाँचदेखि सात व्यक्तिको मृत्यु हुने गरेको जानकारी दिँदै यसरी मर्ने व्यक्तिमा अधिक १५ देखि २९ वर्ष समूहका व्यक्ति भएको र प्रतिवर्ष यस्ता दुर्घटनाको सङ्ख्या १४ प्रतिशतले बढेको जानकारी दिनुभयो ।

उहाँले ३० किमी प्रतिघन्टाको गतिले सवारी साधन हाँकी दुर्घटना हुँदा मृत्युको सङ्ख्या निकै कम र ७० किमी प्रतिघन्टा वा सोभन्दा बढी गतिले सवारी साधन हाँकी दुर्घटना हुँदा मृत्युको सङ्ख्या निकै बढी हुने गरेको देखिएको बताउनुभयो । उहाँका अनुसार प्रतिवर्ष ३० हजार बालबालिकालाई ट्राफिक शिक्षा दिने गरिएकामा त्यसको प्रभावका विषयमा पनि अध्ययन हुनुपर्छ ।

ललितपुर प्रहरी प्रमुख पीताम्बर अधिकारीले प्रहरीको नियमक व्यवहार अप्रिय लागे पनि त्यसले दुर्घटना तथा क्षति रोक्ने भएकाले त्यसले फाइदा दिने बताउँदै नियम उल्लङ्घन गर्नु पौरखी हुनु हो भन्ने गलत मान्यता हटाउन र नियम पालना गर्नु सभ्य हुनु हो भन्ने मान्यता स्थापना गर्न स्थानीय बासिन्दाको व्यवहारमा परिवर्तन हुनुपर्ने बताउनुभयो ।

वातावरणविद् तीर्थ श्रेष्ठले ट्राफिक र प्रहरी फरक कुरा भएको र सडकमा पुग्ने सबै ट्राफिक भएको बताउँदै ट्राफिक नियम पालना गर्दा दुर्घटनाबाट जोगिन र जोगाउन सकिने बताउनुभयो भने स्थानीय नागरिक सरोकार मञ्च नेपालका सदस्य गीता केसीले ट्राफिक नियम तथा वातावरणको ज्ञानका अभावले व्यक्तिले ज्यान गुमाउने गरेको बताउनुभयो ।

मञ्चका अध्यक्ष रुद्रकुमार जोशीले ललितपुर जिल्लालाई सभ्य र वातावरणीय रूपमा स्तरीय बनाउन ट्राफिक प्रहरीलाई सबैको सहयोग आवश्यक भएको बताउनुभयो । रासस