काठमाडौँ, २५ पुस । स्थानीय निर्वाचन नभएसम्म एकीकृत विकास गर्न र गराउन नसकिने विज्ञले बताएका छन् ।
काठमाडौंँ महानगरपालिकाले आयोजना गरेकोे ‘उपत्यकाको एकीकृत विकासको प्रारुप’ विषयको कार्यशालामा नेपाली काँंग्रेसका महामन्त्री प्रकाशमान सिंहले स्थानीयस्तरको विकास नगरी एकीकृत विकासले गति लिन नसक्ने बताउँदै नगरपालिकाको विकासका लागि हरेक नगरपालिकाबीच एकापसमा समन्यको आवश्यकता औँल्याउनुभयो ।
सो अवसरमा मुख्य सचिव डा सोमलाल सुवेदीले स्थानीयस्तरको निर्वाचन गराउनु अहिलेको मुख्य आवश्यकता हो भन्नुभयो ।
महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले एकीकृत विकासका लागि १० बुँदे गोदावरी घोषणापत्र जारी गर्दै मुख्यतः काठमाडौँ उपत्यका मेट्रो क्षेत्रको अवधारणा कार्यान्वयन गरी एकीकृत विकासको आवश्यकता पूरा गर्न यथाशक्य छिटो महानगरपालिका ऐन जारी गर्न पहल गरिने बताउनुभयो ।
समान प्रकृतिका कतिपय कार्यमा उपत्यकाभित्रका स्थानीय सरकारले तत्काल एकीकृत रुपमा कार्य सञ्चालन तथा व्यवस्थापन गर्न नीतिगत निर्णय, कार्यप्रणाली, कार्यविधि र कार्यस्थल तहमा एकरुपता कायम गरी प्रभावकारी र गुणस्तरीय सेवा प्रवाह गर्ने, उपत्यकाको वातावरण संरक्षणमा एकीकृत प्रयास गर्दै सार्वजनिक, निजी, साझेदारी अवधारणा अनुरुप दिगो सहरी विकासका एकीकृत कार्यक्रम सञ्चालन गरिने विषय पनि घोषणापत्रमा समेटिएको छ ।
सूचना प्रविधिको प्रयोगलाई स्थानीय शासन प्रणालीको महत्वपूर्ण आधारका रुपमा विकास गर्दै छिटो, छरितो, प्रभावकारी र कम खर्चिलो सेवाग्राहीमैत्री सेवाप्रवाह प्रणाली सञ्चालन गरिने र उपत्यकाको एकीकृत विकास प्रक्रियाका लागि थप स्रोत व्यवस्थापन तथा परिचालन गर्न उपत्यकाभित्रका स्थानीय सरकारबीच सहकार्य गर्ने लगायतको बुँदा जारी गर्दै दुईदिने कार्यशाला समापन भएको छ । रासस















प्रतिक्रिया