१३ कार्तिक २०८३, शुक्रबार

विवाद मिलाउन ‘माकुरा विधि’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Help-pic– चन्द्रकला भण्डारी
काँकडभिट्टा (झापा), २५ पुस । प्राकृतिक स्रोत तथा द्वन्द्व रुपान्तरण केन्द्रले द्वन्द्वका ठूलो कारणका रुपमा रहेको जग्गा विवाद सल्टाउन मेलमिलापको ‘माकुरा विधि’ प्रयोगमा ल्याएको छ ।

केन्द्रका संस्थापक अध्यक्ष चुपबहादुर थापाले आपसी संवादबाट द्वन्द्वरत पक्षको साझा हित गर्नका लागि ‘माकुरा विधि’ प्रयोगमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार केन्द्रले झापा, सुनसरीसहित १६ जिल्लामा मेलमिलापको कार्यक्रम सञ्चालन गरिएको र जल, जमिन र जङ्गलसम्बन्धी ६५ वटा द्वन्द्वका घटनामा मेलमिलापको प्रव्रिmया अघि बढाइएको छ ।

‘माकुरा विधि’मा द्वन्द्वरत पक्षले विश्वास गरेका भद्रभलादमीको एउटा समूह बनाएर आपसी संवादमार्फत दुवै पक्षको साझा हित पहिचान गर्दै मेलमिलापको विन्दुमा पुग्ने गरिन्छ । सहजीकरणका लागि चयन गरिने भद्रभलादमीको समूहलाई ‘माकुरा समूह’ भन्ने गरिन्छ ।

केन्द्रले यसका लागि ८४ जना तालिमप्राप्त सहजकर्ता परिचालन गरेको र अमेरिकाको म्याकनल फाउन्डेसनले आर्थिक सहयोग गरिरहेको संस्थापक अध्यक्ष थापाले बताउनुभयो ।

संस्थाका झापा सहजकर्ता सङ्गीता थापाले जिल्लाका सात वटा द्वन्द्वका घटनामा केन्द्रले काम गरिरहेको र तीन वटा मुद्दा सफलताको अन्तिम चरणमा पुगिसकेको बताउनुभयो ।

शान्तिनगरको गढीगाउँ मावि, बाहुनडाँगीको जनता मावि र शिवगञ्जको जनआदर्श उमावि र विद्यालयको जग्गाको जोतभोग गरिरहेका स्थानीय किसानबीचको समस्या समाधानका लागि केन्द्रले ‘माकुरा विधि’को सफल प्रयोग गरेको सहजकर्ता थापाले बताउनुभयो ।

“हामी समुदायकै अगुवाको माकुरा समूह बनाएर द्वन्द्वको रुपान्तरण गछौँ” केन्द्रका संस्थापक अध्यक्ष चुपबहादुर थापा भन्नुहुन्छ–“शरीरको कुनै पनि अङ्ग फाट्यो भने उपचार गर्ने प्रविधि रहेछ, तर मन फाट्यो भने त्यसको डाक्टरी उपचार छैन ।”

द्वन्द्वले फाटेका मन टाल्नु नै ‘माकुरा विधि’को उद्देश्य रहेको उल्लेख गर्दै उहाँले अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत मिलाउन नसकेको मुद्दा मेलमिलापबाट समाधान गर्न सकिने बताउनुभयो ।

विसं २०७० जेठ २७ गते स्थापित केन्द्रले दुई वर्षको छोटो अवधिमै द्वन्द्व समाधानको नयाँ सूत्र पहिल्याएर प्रशंसा आर्जन गरेको छ । धनकुटा, सिन्धुपाल्चोक, कैलालीलगायत जिल्लामा केन्द्रले थुप्रै विवाद ‘माकुरा विधि’ मार्फत मिलाइसकेको छ । रासस