
काठमाडौं, २४ पुस । सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदैं एड्माएर नेपालले अर्को नयाँ अभियान सञ्चालन गरेको छ ।
उक्त अभियान अन्तर्गत हालै संस्थाले सिन्धुपाल्चोकको गोल्चे गाउँमा न्यानो कपडा र ब्ल्याङ्केटहरु वितरण गरेको छ । उक्त गाउँको ९ वटा वडाहरुमा छरिएका करिब १२८ घरधुरीलाई उक्त कपडा तथा ब्ल्याङ्केटहरु वितरण गरेको कुरा संस्थाले जानकारी गराएको छ ।
संस्थाले उक्त अभियानको प्राथमिकतामा २०७२ वैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पनहरुमा परि ज्यान गुमाएका मृतकहरुका परिवार र अपाङ्ग भएका व्यक्तिहरुलाई समावेश गरेको थियो । जसमध्ये उक्त गाउँका ८२ जना मृतकका परिवारहरु लगायत अपाङ्गहरुलाई सहयोग गरिएको थियो ।

त्यसलगायत बालबालिका, सुत्केरी महिलाहरु, वृद्धवृद्धाहरु आदिलाई पनि संस्थाले सहयोग वितरण गरेको थियो । गोल्चे गाउँको तामाङ्ग समुदायमा संचालन गरिएको उक्त १ दिने अभियानले गाउँबासीहरुलाई यो चिसो जाडोमा थोरै भएपनि न्यानोपनको महसुस गराउने कुरा संस्थाकी अध्यक्ष नीता पौडेलले जानकारी गराउनुभयो । साथै उहाँले यस्तै अभियान नेपालका अन्य प्रभावित जिल्लाहरुमा पनि छिटोभन्दा छिटो संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
साथै उक्त संस्थाका उपाध्यक्ष एवं विश्वकिर्तिमानी संचारकर्मी रवि लामेछानेले यस्तै सहयोगी हातहरु एकजुट हुने हो भने हामीले विदेशी सहयोगको मात्र आश गर्नुनपर्ने कुरा बताउनुभएको थियो । यस अभियानलाई समर्थन जनाउँदै चर्चित राजनीतिक दल विवेकशील नेपालीले पनि न्याना कपडाहरु तथा ब्ल्याङ्केटहरु उपलब्ध गराएको थियो ।
एड्माएर नेपाल वेलकम ग्रुप अन्तर्गतको एक विशुद्ध सामाजिक संस्था हो । सामाजिक जनहितकारी कार्यहरुका लागि स्थापित उक्त संस्थाले यसअद्धि पनि भूकम्प पीडितहरुको सहयोगार्थ विश्वभर छरिएर बसेका नेपालीहरलाई एक सूत्रमा बाँधिएर सहयोगका निमित्त एकजुट बनाउन एक अभियान कार्यक्रम सफलताका साथ सम्पन्न गरिसकेको छ ।












प्रतिक्रिया