१३ कार्तिक २०८३, शुक्रबार

परिचालकलाई अनुमति पत्र नदिँदा चोरी, डकैती र गुण्डागर्दीमा संलग्नता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus

– पूर्णप्रसाद मिश्र
काठमाडौँ, २४ पुस । सार्वजनिक यातायातका सहयोगी (परिचालक) लाई अनुमति पत्र नदिँदा चोरी डकैतीलगायत अवैध र अभद्र व्यवहारमा वृद्धि हुन थालेको छ ।

पुरानो बसपार्कबाट थानकोट र दहचोक रुटमा चल्ने सवारीका सहयोगीले नै यात्रुको खल्तीबाट पैसा र बहुमूल्य सामग्री लुटेपछि लामो समयसम्म यस रुटको सवारी सञ्चालनमा समस्या आएको थियो ।

पुरानो बसपार्कबाट साँखु र सुन्दरीजल रुटमा सञ्चालन हुने यातायातमा पनि दैनिकजसो लुटपाटका घटना हुने गुनासो आउने गरेको प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट परिचालकको अनुमतिपत्र त परै जाओस् परिचयपत्र समेत नहुँदा सार्वजनिक सवारीमा जिम्मेवार व्यवहार नगरेको बताउनुहुन्छ ।

“परिचयपत्र नभएपछि सवारीमा यात्रुलाई नराम्रो व्यवहार गर्ने, सामान छुट्दा पनि नदिनेजस्ता समस्या आउने गरेको छ, यातायात व्यवस्था विभागले परिचालकलाई परिचयपत्र दिने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को प्रावधानलाई लागू नगर्दा समस्या आएको छ, चालकको अनुमतिपत्र हुँदा जिम्मेवार भएजस्तो परिचालक नभएको पाएका छौँ”– उहाँले भन्नुभयो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ६७ मा परिचालकले अनुमतिपत्र लिएर मात्र काम गर्नुपर्ने व्यवस्था भए पनि कार्यान्वयन हुन सकेको छैन । परिचालक शब्दले सवारी साधनमा काम गर्ने अन्य जाँचकी एवम् सहयोगी समेतलाई जनाउने भनी ऐनमा परिभाषा गरिएको छ ।

यातायातसम्बन्धी मुद्दा हेरिरहनु भएका अधिवक्ता विश्वभूषण दवाडी सवारी तथा यातायात व्यवस्था ऐन २०४९मा भएको परिचालक र यातायात निरीक्षकसम्बन्धी व्यवस्था कार्यान्वयनमा नल्याउँदा सार्वजनिक यातायातमा अव्यवस्था बढेको बताउनुहुन्छ ।

“ऐनमा एउटा परिच्छेदमै परिचालक अनुमतिपत्रसम्बन्धी प्रावधान राखेर यातायातलाई व्यवस्थित गर्न खोजिए पनि व्यवहारमा लागू नहुँदा नेपालको कानुन दैवले जानुन् भन्ने उक्तिलाई चरितार्थ गरेको छ, कानुन बनाएपछि कार्यान्वयन नगर्ने परम्परा बन्दा उपभोक्ता मर्कामा परेका छन्”–उहाँले भन्नुभयो ।

ऐनको परिच्छेद पाँचको पूरै भागमा परिचालक अनुमतिपत्रसम्बन्धी व्यवस्था गरिएको छ । दफा ६४ मा परिचालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई सार्वजनिक सवारीको धनी वा व्यवस्थापकले परिचालकको काममा लगाउन नहुने प्रावधान छ ।

ऐनमा १८ वर्ष उमेर नपुगेको, साधारण लेखपढ गर्न नजान्ने र निरोगिताको प्रमाणपत्र पेस गर्न नसक्नेलाई परिचालक अनुमतिपत्र नदिइने व्यवस्था गरेपनि यो अहिलेसम्म लागू नहुँदा सवारीका परिचालक अवैध काममा संलग्न हुने गरेको प्रहरीको गुनासो छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग दरबारमार्गका प्रहरी निरीक्षक सुनीलजङ्ग शाह थानकोट र दहचोक रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका परिचालकले पकेटमार्ने गरेको गुनासो पटकपटक आएपछि मुद्दाको प्रक्रिया अघि बढाउँदा परिचयपत्र नभएकाले अप्ठ्यारो परेको बताउनुहुन्छ । पुरानो बसपार्कबाट साँखु र सुन्दरीजल रुटमा सञ्चालन हुने सवारीका परिचालकले पनि लुटपाट गरेर भाग्ने गरेका उजुरी आए पनि परिचयपत्र र अनुमतिपत्र केही नहुँदा भेट्टाउन नसकिएको पनि उहाँको गुनासो थियो ।

“पछिल्लो समयमा विद्यार्थी सहुलियत नदिने सवारीमा अनुगमन गर्दा परिचालकको व्यवहार तल्लोस्तरको लाग्यो, सवारीको परिचालक हो भन्ने परिचय नहँुदा गुण्डाका रुपमा उपयोग हुने गरेका गुनासा आउने गरेको र अनुगमनका क्रममा यी गुनासा व्यवहारमा स्पष्ट देखियो”–उहाँले भन्नुभयो ।
परिचालकको परिचयपत्रको ढाँचासमेत ऐनको अनुसूची ७ मा व्यवस्था गरेबमोजिम हुने भनिए पनि अहिलेसम्म कार्यान्वयनमा ल्याउन यातायात व्यवस्था विभाग असफल भएको छ । विभागको असफलताको पीडा दैनिक सार्वजनिक यातायातमा भोग्नुपरेको यात्रुको भनाइ छ ।

कलङ्कीबाट दैनिक यात्रा गरी त्रिचन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्न आउनु हुने रमेश विडारी परिचालकको सेवाको स्थायित्व नहुँदा अघिल्लो दिन सवारीमा देखिएका परिचालक भोलिपल्ट फेरिने गरेको बताउनुहुन्छ ।

“परिचालकलाई श्रम ऐनअनुसार नियुक्तिपत्र र परिचयपत्र नदिँदा उनीहरुले अनुमतिपत्र नपाएकाले स्थायीरुपमा काम गर्दैनन्, यसले गर्दा हामीजस्ता यात्रु दैनिक अभद्र व्यवहार भोग्न बाध्य हुनुपरेको छ, विद्यार्थी सहुलियत माग्दा लात्ताले हानेर विद्यार्थी ढलेका घटना पनि छन्, महिलालाई त परिचालकले संवेदनशील अङ्गमा समात्ने गरेका घटना पनि प्रत्यक्ष रुपमा देखेका छौँ”–उहाँले भन्नुभयो ।

विभाग सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने भन्दा पनि घुस खाने कार्यमा संलग्न हुँदा नेपालको यातायात क्षेत्रमा अव्यवस्था बढेको यात्रुको गुनासो छ । विभागका प्राविधिक निर्देशक नवीनकुमार पोखरेल गतहप्ता विद्युतीय स्कुटर आयातका लागि घुस लिएको अभियोगमा अख्तियारको पक्राउमा परेका थिए । यातायात व्यवसायी र सरोकारवालासँग मोलमोलाइमा मात्र विभागका अधिकारीको समय बित्ने गरेको उपभोक्ता मञ्च नेपालका मध्यमाञ्चल संयोजक रोशन पोखरेलको आरोप छ ।

विभागका निर्देशक एवम् प्रवक्ता वसन्त अधिकारी यो आरोप स्वीकार्न तयार हुनुहुन्न । यदाकदा यस्ता घटना भए पनि सबैलाई यसमा मुछ्न नहुने उहाँको भनाइ छ । चालकलाई चालक अनुमतिपत्र बाँडेपनि परिचालकलाई ऐनमा व्यवस्था गरेबमोजिमको अनुमतिपत्र नदिँदा समस्या आएको विभागका अधिकारी स्वीकार्छन् ।

“ऐनमा व्यवस्था भए पनि विभागले अहिलेसम्म एउटै पनि परिचालक अनुमतिपत्र बाँडेको छैन, यसका लागि श्रम ऐनअनुसार व्यवसायीले परिचालकलाई करार गरेर रोजगारी नदिँदा बाँड्न नसकिएको हो, अहिले सम्बन्धित यातायात समितिलाई परिचयपत्र बाँड्न निर्देशन दिए पनि कार्यान्वयन हुनसकेको छैन, यसलाई अनुगमन गरी कार्यान्वयन गराउँछौँ”–उहाँले भन्नुभयो ।

मङ्सिर मसान्तसम्म विभागमा दर्ता भएका २० लाख ५५ हजार ६१ सवारीमध्ये यात्रुबाहक बस ३७ हजार २५१, माइक्रोबस तीन हजार ८१३, टेम्पो नौ हजार ७७ र मिनी बस १० हजार छन् । यी सवारीमा कार्यरत परिचालकलाई अहिलेसम्म अनुमतिपत्र वितरण प्रक्रिया सुरु हुनसकेको छैन ।
यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने अस्थायी व्यवसाय भएकाले परिचालकलाई अनुमति पत्रका लागि सिफारिस गर्न नसकिएको दाबी गर्दै आएको छ । महासङ्घका अध्यक्ष दिनेश भण्डारी अनुमतिपत्र नभए पनि स्थानीय यातायात समितिलाई परिचालक परिचयपत्र दिन निर्देशन दिइएको बताउनुहुन्छ ।

“नयाँ संविधान जारी भएपछि कानुन संशोधन गर्ने क्रममा यातायात व्यवसायीको स्थायित्वको व्यवस्था गर्नुप¥यो, यसपछि परिचालकलाई अनुमतिपत्र दिन सकिन्छ”–उहाँले भन्नुभयो । रासस