
– विमल योगी
काठमाडौं, २४ पुस । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले मधेसवादी दलका नेताहरुसँग भेटवार्ता गरेका छन् ।
शुक्रबार विहान बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टी कार्यालयमा भएको भेटवार्तामा उपाध्यायले मधेस आन्दोलन र भारतीय नाकाबन्दी छलफल गरेका छन् । तमलोपाका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेतासँग उपाध्यायले झण्डै २ घण्टा लामो छलफल गरेका थिए ।
उक्त समयमा मोर्चाको बैठक बसिरहेको थियो । उपाध्याय बैठक चल्दा चल्दै मोर्चाका नेता भेट्न विजुलीबजार पुगेका हुन् । भेटवार्ता गरिसकेपछि उपाध्यायले मोर्चाका नेताहरुलाई सहमति गरेर जानुस् भनेको बताए ।
उनले भने– मोर्चाका नेताहरुलाई मिलेर जानुस् भनेको छु, जहिले सहमति हुन्छ त्यही दिन नाका खुल्छ ।’
स्रोतका अनुसार उपाध्यायले मधेसवादी दलका नेताहरुलाई भारतको सन्देश सुनाएका थिए । ‘राजदूत उपाध्यायले हामीलाई आन्दोलन नलम्याउनुस्, चाँडो सहमति गरेर अगाडि बढ्नुस् । गतिरोध अन्त्य गर्नुस् भन्ने भारतको सन्देश सुनाउनुभयो,’ राजदूत उपाध्यायको भनाई उद्धृत गर्दै मोर्चाका एक नेताले भने । ‘भारत चाँडो भन्दा चाँडो नाकाबन्दी खुलाएर सम्बन्ध सुधार गर्ने पक्षमा छ ।’
तमलोपा कार्यालयमा अहिले मोर्चाको बैठक बसिरहेको छ । जारी मधेस आन्दोलन र नाकाबन्दी खुलाउने बारे छलफल गर्न उपाध्याय काठमाडौंमा छन् ।













प्रतिक्रिया