सोलुखुम्बु, २४ पुस । नेपालको संविधान २०७२ को राष्ट्रव्यापी प्रचारप्रसार कार्यक्रमअन्तर्गत आज सोलुखुम्बुमा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला विकास समितिको कार्यालय सोलुखुम्बुमा भएको कार्यक्रममा जिल्लाबाट प्रत्यक्ष निर्वाचित सांसद बलबहादुर केसी, समानुपातिक सांसद गोपाल गिरीलगायत जिल्लास्थित राजनीतिक दल, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।
जनताको संविधान जनताकै माझमा भन्ने नारा दिइएको भए पनि सर्वसाधारण नागरिकको उपस्थिति भने कम रहेको थियो ।
कार्यक्रममा संविधानका मूलभूत प्रावधानबारेका संक्षिप्त जानकारी समेटिएको हातेपुस्तिका वितरण गर्नुको साथै संविधानमा समावेशीकरणमा लागि भएका व्यवस्था समेटिएको भिडिओ देखाइएको थियो ।
कार्यक्रममा बोल्दै व्यवस्थापिका–संसद्का सदस्य बलबहादुर केसीले हरेक नागरिकको अधिकार ग्यारेन्टी गरिएको भए पनि जानकारीको अभावमा संविधानप्रति नागरिकको अपनत्व सिर्जना नभएको भन्दै यसैका लागि नेपाल सरकारले प्रचारप्रसार अभियान सुरु गरेको बताउनुभयो ।
सांसद केसीले अहिले तराईमा देखिएको समस्यासमेत संविधान संशोधनबाट समाधान हुने भन्दै मधेसका नेताले यसलाई स्वीकार गर्नुपर्ने बताउनुभयो ।
यस्तै सांसद गोपाल किराँतीले यो संविधानले नेपाली जनताको छ दशकभन्दा अघिदेखिको चाहना पूरा गरेको भन्दै यही संविधानको जगमा समृद्धि सम्भव रहेको बताउनुभयो । रासस












प्रतिक्रिया