काठमाडौँ, २३ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको जग्गा व्यक्तिगत प्रयोजनका लागि दर्ता गरी अनियमितता गरेको भन्दै मालपोत कार्यालय कलङ्कीका मालपोत अधिकृतलाई तत्काल निलम्बन गर्न निर्देशन दिएको छ ।
आयोगले पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको तत्कालीन काठमाडौँ बाँडभन्ज्याङ गाविस वडा नं ३ हाल चन्द्रागिरि नगरपालिकाको कित्ता नं १०१ क्षेत्रफल ९२ रोपनी जग्गा मालपोत अधिकृत शिवप्रसाद रिमालले अनियमितता गरेको पाइएकाले निलम्बन गर्न भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई निर्देश गरेको हो ।
मालपोत अधिकृत रिमाल र नासु हरिप्रसाद आचार्यले वन क्षेत्रको जग्गा सुयल हाउजिङ कम्पनीलाई भोगचलन गर्न दिई कानुन विपरीतको काम गरेकाले निलम्बन नगर्दा आफूविरुद्धको प्रमाण लुकाउन सक्ने भएकाले तत्काल निलम्बन गर्न भनिएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिनुभयो ।
अधिकृत रिमाल र नासु आचार्यलाई आयोगको ऐन, २०४८ को दफा १९ अनुसार कारबाही गर्नुपर्ने भएकाले निलम्बन गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । रासस












प्रतिक्रिया