
– नरेश केसी
भैरहवा, २३ पुस । नेपालमा जारी संविधान विश्वकै उत्कृष्ट संविधान भएको एक कार्यक्रमका विज्ञहरुले दाबी गरेका छन् ।
नेपालको संविधानमा संघियता विषयक् अन्तरदेशीय अन्तरक्रिया कार्यक्रमका सहभागीले सो दाबी गरेका हुन् । भैरहवामा संघियताको विषयमा आयोजित वृहत अन्तरक्रियामा क्यानाडा, अष्ट्रलिया, भारत र नेपालका संविधानका विज्ञहरुले नेपालमा जारी संविधानमा संघियता विश्वकै उत्कृष्ट भएको दाबी गरे ।
कार्यक्रममा क्यानेडियन माथिल्लो सदनका संविधानका सल्लाहकार तथा क्वीन्स युनिभर्सीटिका सहायक प्रोफेसर रचेल लाफरेस्टले क्यानाडामा संघीयता सफल हुनुमा शिक्षा र चेतना मुख्य भएको जनाइन् ।
संविधानविद लाफरेस्टले क्यानाडमा संघियता सफल भएता पनि स्थानिय सरकारको भूमिकालाई कम आंकलन गरिएको तर्क गर्दै नेपालको संविधानमा स्थानिय सरकारलाई विशेष महत्वका साथ स्थान दिएकोले नेपालको संविधान विश्वकै उत्कृष्ट भएको जनाईन् ।
उक्त अवसरमा अष्ट्रेलियन संविधानविद प्राध्यापक रर्वट रायनले नेपालको संविधानले विकेन्द्रीकरणलाई उच्च प्राथमिकता राखेको जनाउदैं राजनीतिक स्वायत्ततासहितको नेपालको संघिय शासन प्रणाली उत्कृष्ट भएको जनाए । युटीएस सेन्टर फर लोकल गोभरमेन्ट, अष्ट्रलियाका डाइरेक्टर समेत रहेका रायनले अष्ट्रलियन संविधान भन्दा नेपालको संविधानमा व्यवस्था गरिएको संघियता अब्बल भएको दाबी गरे ।
कार्यक्रममा भारतीय संविधानका ज्ञाता डा. आशनारायण रायले संघियता र सरकारको विषयमा चर्चा गर्दै नेपालको संविधान र संघियता संसारकै अब्बल भएको तर्क गर्दै सबै मिलेर संविधानमा अपनत्व महसुस गर्नेगरी कार्यान्वयन गर्न जोड दिए ।
नेपालका संविधानविद दिनेश त्रिपाठीले नेपालको संविधान विश्वकै अब्बल भएको दाबी गर्दै संघियता सफल नभए मुलुक असफल हुनेहुँदा सबै मिलेर जारी संविधानलाई समर्थन गर्दै सफल पार्नुपर्ने बताए ।
काठमाडौं, चितवन, विराटनगर र नेपालगन्ज हुदैं भैरहवामा रुपन्देहीका संघसंस्थाका प्रमुख, नागरिक समाजका अगुवा तथा विभिन्न राजनैतिक दलका प्रतिनिधीले सो अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए ।
संघीय संरचनाका तुलानात्मक अनुभबहरु अन्तरसरकारी सम्बन्ध र समन्वय विषय्क अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आ आफ्ना तर्क राखेका थिए । उक्त अवसरमा फोरम अफ फेडेरेशनका कार्यक्रम व्यवस्थापक सागर मानन्धरले पनि आफ्ना दृष्टिकोण राखेका थिए ।












प्रतिक्रिया