गौशाला, २३ पुस । तराई–मधेस लोकतान्त्रिक पार्टी महोत्तरीले आजदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित क्षेत्र नं ३ मा संविधानबारे दसदिने जनजागरण अभियान सुरु गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष अभिराम शर्माको नेतृत्वमा आज दिउँसो जलेश्वर नगरपालिका–१२ मलिवारा गाउँमा एक कार्यक्रमको आयोजना गर्दै सोही ठाउँबाट जनजागरण अभियान सुरु गरिएको हो ।
अभियानअन्तर्गत १० दिनसम्म सो पार्टीका नेताहरुले सदरमुकाम जलेश्वरसहित क्षेत्र नं ३ का सबै गाउँठाउँमा पुगेर नेपालको संविधानबारे जनजागरण कार्यक्रम गर्ने भएको छ । जनतालाई संविधानमा मधेस र मधेसीका लागि गरिएका विभिन्न व्यवस्थाबारे बुझाउने तथा त्रुटिबारे जानकारी दिँदै सच्याउनुपर्ने बुँदाबारे जानकारी गराउने कार्यक्रम रहेको पार्टी जिल्ला अध्यक्ष अभिराम शर्माले बताउनुभयो ।
यस कार्यक्रमका लागि जिल्लास्तरीय सबै नेतालाई विशेष जिम्मेवारी तोकिएको छ भने आउँदा १० दिनसम्म क्षेत्र नं ३ का सबै सम्बन्धित जनतालाई सक्रियताका साथ यस अभियानमा सहभागी हुन अपिल गरिएको छ । रासस












प्रतिक्रिया