धनगढी, २३ पुुस । कैलाली जिल्लामा बुधबार भएको एक महिलाको हत्या घटनामा मृतकका श्रीमान्को नै संलग्नता रहेको आशङ्का गरिएको छ ।
जिल्लाको मध्य क्षेत्रको भजनी–त्रिशक्ति नगरपालिका वडा नं १० झल्झलियाका हिमबहादुर नेपालीले श्रीमती अन्दाजी १९ वर्षीया आरती नेपालीको हत्या घटनामा आफ्नो संलग्नता रहेको साबिती बयान प्रहरीसमक्ष दिएको इलाका प्रहरी कार्यालय, सुखडले जनाएको छ ।
श्रीमतीका कारण सधैँ घरमा झैझगडा भइरहने भएकाले जङ्गलमा लगेर आफैँले चक्कु प्रहार गरी मारेको बयान उनले दिएका छन् ।
हत्याको आशङ्का आफूमाथि नगरियोस् भन्ने मनसायले घटनालाई बलात्कार गरिएजस्तो देखाउन आफूले चक्कुले मृतकको तिघ्रामा समेत घाउ बनाएको बयान उनले दिएका छन् ।
यसअघि हत्या गरिसकेपछि आफैँले प्रहरीलाई खबर गरेको र आफ्नो श्रीमती आरती नेपालीलाई तीन÷चारजना अपरिचित व्यक्तिले जङ्गलमा लगेर हत्या गरेको भन्दै हिमबहादुरले प्रहरीलाई झुठो बयान दिएका थिए । उनीहरुको प्रेम विवाह केही महिनाअघिमात्रै भएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले हत्या घटनामा मृतक महिलाका श्रीमान्को संलग्नता रहेको शङ्का गरिएकाले थप अनुसन्धान भइरहेको बताउनुभयो ।
श्रीमान्सँगै घोडाघोडी नगरपालिकास्थित कीर्तिपुरमा रहेको माइतीघर जाँदै गरेकी आरतीको बाटोमा पर्ने बिजुलियाको जङ्गलमा बुधबार दिउँसो घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । रासस












प्रतिक्रिया